केटीजस्तो र हिजडा कसैलाई पनि नभनियोस् । त्यसो भन्दा त आँसु झर्छ ।
प्रेम लामा
चितवन
आफन्तहरूले मलाई वास्ता गरेनन् । मैले आफ्नो पहिचान खोल्नासाथ एक किसिमले सामाजिक बहिष्कार खेप्नु परिरहेको छ ।
मनोरञ्जनकुमार वैद्य
काठमाडौं
समाज र परिवारबाट टाढा छौं । हाम्रो अवस्था नाजुक छ । परिवार बसाउने अधिकार हामीलाई कानुनतः छैन ।
लक्ष्मी घलान
अध्यक्ष, मितिनी नेपाल
काठमाडौं– केटीजस्तो भनेर प्रेम लामालाई कतिपय गाउँलेहरू खिसी गर्छन् । कतिले त ‘हिजडा’ भन्दै घृणा नै गर्छन् । उनलाई ‘केटीजस्तो’ र ‘हिजडा’ शब्दले साह्रै चित्त दुख्छ ।
चितवनको राप्ती नगरपालिका–९ घर भएका उनीसँग अस्पतालमासमेत चिकित्सकहरूले त्यस्तै शब्द प्रयोग गरेर अपमान गरेको तीतो अनुभव छ । प्रभावसँग उनले भने, ‘यस्तो कसैलाई पनि नभनियोस् । त्यसो भन्दा त आँसु झर्छ ।’
काठमाडौंका ६४ वर्षीय मनोरञ्जनकुमार वैद्य त आफन्तजनबाट हेलामा छन् । उनीबाट आफन्तहरू धेरै वर्षदेखि टाढा छन् । आफू बहिष्करणमा परेको भन्दै उनलाई बुढ्यौली उमेरमा दुःख लागेको छ ।
‘आफन्तहरूले मलाई वास्ता गरेनन् । मैले आफ्नो पहिचान खोल्नासाथ एक किसिमले सामाजिक बहिष्कार खेप्नुप¥यो, खेपिरहेको छु,’ उनले भने, ‘मुखले होइन कि व्यवहारले बहिष्कार खेप्नुपरेको छ । यस्तो कसैलाई नहोस् ।’
लामा र वैद्यजस्तै लैंगिक तथा यौनिक अल्पसंख्यक ज्येष्ठ नागरिकहरूले वर्षौंदेखि समाज र परिवारमा भेदभावसँगै हिंसासमेत भोग्दै आएका छन् ।
मितिनी नेपाल नामक संस्थाले गरेको एक अध्ययनअनुसार त्यस्तो हिंसा भोग्नेहरू ३१ प्रतिशत छन् । उनीहरूलाई साथी र सरकारी प्रतिनिधिहरूले समेत हिंसा गर्ने गरेको अध्ययनमा उल्लेख छ । ६५ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरू जीवन भोगाइका कारण शारीरिक र भावनात्मक रूपमा असुरक्षित ठान्छन् । तेस्रोलिंगी पहिचान र लैंगिक अभिव्यक्तिका कारण घर र घरधनीबाट २३ प्रतिशत निकालिएको प्रतिवेदनमा छ ।
यस्तै, २७ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूसँग कार्यस्थलमा भेदभावको सामनासँगै तलब वृद्धि र बढुवा गर्न अस्वीकार गरेको अनुभव छ । २४ प्रतिशतले भने सहकर्मीहरूबाटै शारीरिक दुव्र्यवहार र हिंसा सहेको बताएका छन् ।
जबकि, अधिकांश लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको अपांगता छ । पक्षघात र पुरानो ढाड दुखाइबाट पाँच प्रतिशत अपांगता छँदा १२ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक अशक्त छन् । एक प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको दृष्टि कमजोर छ ।
यस्तो पीडादायी अवस्थामा रहँदा सरकार उनीहरूको संरक्षक बन्न नसकेको गुनासो छ । यसप्रति लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको अधिकारको पक्षमा वर्षौंदेखि बहस र पैरवीको क्षेत्रमा क्रियाशील संस्था मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानको असन्तुष्टि छ ।
‘समाज र परिवारबाट टाढा छौं । हाम्रो अवस्था नाजुक छ । परिवार बसाउने अधिकार हामीलाई कानुनतः छैन,’ उनले भनिन्, ‘कानुन बनाएर व्यवस्थापन गर्न सरकारले सकेको छैन । हामी दुःखी छौं ।’
जीवनको उत्तराद्ध निकै कष्टकर बनेको गुनोसो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकहरूको छ । मानव अधिकारको उपभोग गर्नबाट समेत वञ्चित भएको भन्दै जीवन जिउने क्रममा विकराल परिस्थितिको सामना गरिरहनुपरेको पीडा पोखेका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३१ प्रतिशत जेष्ठ नागरिक त विवाहबाटै वञ्चित छन् । यस समुदायका ३३ प्रतिशत जेष्ठ नागरिक परिवारले अलग्याइएपछि एक्लै बस्दै आएका छन् । ५३ प्रतिशत भने आफ्नो परिवारसँग बस्दै आएका छन् ।
यस समुदायका धेरै ज्येष्ठ नागरिकहरू पूर्णरूपमा बेरोजगार छन् । केही भने ढल्किँदो उमेरमा समेत यौन पेसामा छन् । नगण्य मात्रामा पूर्णकालीन रोजगारी प्राप्त गर्नेहरू रहेको अध्ययनले देखाएको छ ।
आयआर्जनको आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूको यस्तो स्थिति देखिँदा अर्कोतिर उनीहरू लामो समयदेखि लैंगिक पहिचानको लडाइँमा छन् । परिवार र समाजबाट हुने घृणा र अपमानजनक व्यवहारविरुद्ध पनि उनीहरू संघर्षरत छन् । तर, जीवनको उत्तरार्धमा यस समुदायका ज्येष्ठ नागरिकहरूले एक्लोपन र खाद्यसँगै स्वास्थ्य सुरक्षामा समस्याको महसुस गरिरहेका छन् ।
जुन समस्याको समाधानका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूको छुट्टै वृद्धाश्रम खाँचोबारे बहस भइरहेको छ । यसबारे घरपरिवार र आफन्तबाट अन्ततः टाढिएका ६४ वर्षीय मनोरञ्जनकुमार वैद्य ‘लैंगिकमैत्री वृद्धाश्रम’ तात्कालिक आवश्यकता भएको बताउँछन् ।
‘बिरामी हुँदा गाह्रो हुन्छ । संरक्षक छैन । त्यसले गर्दा लैंगिकमैत्री वृद्धाश्रम चाहिन्छ,’ उनले भने, ‘किनभने हामी अरु (पुरुष÷महिला)सँग समायोजन हुन सक्दैनौं र हामीमाथि घृणा हुन्छ ।’
संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यकलगायतका सम्पूर्ण व्यक्तिलाई समान अधिकार र संरक्षण प्रदान गरेको छ । कुनै पनि अवसरबाट वञ्चित नगरिने पनि भनिएको छ । किनभने विभेद, अपमान, घृणासँगै अवसरबाट वञ्चित गर्नु कानुनविरोधी कृत्य हो । तर, पनि लैंगिक तथा अल्पसंख्यक ज्येष्ठ नागरिकहरू यी सबै कृत्य भोग्न विवश छन् ।