काठमाडौं – राजनैतिक मुद्दालाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । समितिका संयोजक सुनीलकुमार पोखरेलले एक प्रेस विज्ञप्ति जारी गरी शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र मानी आगामी दिनमा शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको बन्द हड्ताल नगर्न अपिल गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) समुहसम्बद्ध विद्यार्थी संगठनले गरेको शैक्षिक हड्ताललाई इंगित गरी सो वक्तव्य आएको हो ।
नेपालको संविधानले बालबालिकाले शिक्षा प्राप्त गर्ने कार्यलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै नेपाल पक्ष रहेको अन्तरराष्ट्रिय महासन्धिहरुले पनि शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्वीकार गरकाले संवैधानिक व्यवस्थालाई सम्मान गर्न माग गरिएको छ । राजनैतिक दल र तिनका भात्रृ सङ्घ÷सङ्गठनले आफ्ना राजनैतिक मुद्दालाई अगाडि सारेर शैक्षिक संस्थामा पठनपाठन अवरुद्ध लगायतका कार्य नगर्न समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । थुनामा रहेका आफ्नो संगठनका नेताहरुको रिहाईको माग राखी गरिएको शैक्षिक हड्ताल राजनैतिक मुद्दा हुन नसक्ने आयोजक पक्षको दावी छ । बारले शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र बनाउन गरेको आग्रहमा सरकारी हस्तक्षेपको भने उल्लेख छैन ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६ १५:५२