काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को पाँचौं महिना अर्थात् मंसिरमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । अघिल्लो महिना (कात्तिक)को तुलनामा साढे २७ हजारभन्दा बढीले मंसिरमा श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार मंसिर महिनामा ७१ हजार २७६ जना नेपालीले विभिन्न मुलुकमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिने दुवैको हो । कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएकामा मंसिरमा २७ हजार ६५४ ले बढेर ७१ हजार २७६ पुगेको हो । मंसिरमा श्रम स्वीकृति लिनेको संख्या चालु आवको पाँच महिनायताकै सबैभन्दा धेरै हो ।
चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि मंसिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् । कात्तिक महिनामा युएई जाने नेपालीको संख्या १२ हजार ४८५ रहेको थियो । यस्तै मंसिर महिनामा रोजगारीका लागि कतार जान १४ हजार १५२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या कात्तिक महिनाको भन्दा पाँच हजार ६९० ले बढेको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको साउदी अरेबियामा १३ हजार ९८४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि कात्तिक महिनामा साउदी जाने नेपालीको संख्या आठ हजार १४० रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा केही सुधार देखिएको छ ।
चौथो स्थानमा रहेको मलेसिया जान नौ हजार ७७५ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । कात्तिकमा मलेसिया जानेको संख्या पाँच हजार ५५२ जनामात्रै थियो । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ४५८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरु संख्या पनि मंसिर महिनामा बढेको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांक देखिन्छ ।
यसैगरी जापान एक हजार ५२८, रोमानिया ९६९, बहराइन ८९५, माल्दिभ्स ७९५, क्रोएसिया ७९३, ओमान ६४०, साइप्रसका लागि ५२८ र मोरिसस जान ५२० जनाले श्रम स्वीकृति लिएका छन् । इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या पनि बढेको छ । मंसिर महिनामा कोरिया जान एक हजार ८४३ जनाले श्रम स्वीकृति पाएका छन् । यी मुलुकहरुमा पनि श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या मंसिरमा बढेको छ ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३५ हजार १९६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ८० जना रहेका छन् । चालु आवको पाँचौं महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ९३४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
यस्तै जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । कात्तिकमा धनुषाबाट तीन हजार ६२१ जना विदेसिएका छन् । त्यस्तै झापा दोस्रो स्थानमा परेको छ । त्यहाँबाट तीन हजार ३९७ जना श्रमिक विदेसिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट तीन हजार १०२ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ७१६ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ३८५ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, सर्लाही, तनहुँ, स्याङजा, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।
धेरै श्रमिक गएका मुलुक
युएई – १८,४९३
कतार – १४,१५२
साउदी – १३,९८४
मलेसिया – ९,७७५
कुवेत – ३,४५८
जापान – १५२८
रोमानिया – ९६९
बहराइन – ८९५
माल्दिभ्स – ७९५
क्रोएसिया – ७९३