काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापीरुपमा मानाइरहेकै समयमा सुरक्षित वैदेशिक रोजगारीका लागि विभिन्न आठ मुलुकसँग श्रम सम्झौताको तयारी भइरहेको जनाएको छ । नेपाली युवाहरुको श्रम गन्तव्यको रुपमा रहेका खाडीका तीन र युरोपका पाँच मुलुकसँग सम्झौताको लागि आवश्यक मस्यौदा पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
हालसम्म नेपाल सरकारले १२ वटा मुलुकसँग श्रम सम्झौता गरिसकेको छ । सँगसँगै सन् २०२४ भित्र उल्लेखित थप आठ मुलुकसँग सम्झौता गर्ने तयारीका साथ गृहकार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । ‘सम्झौताका लागि आवश्यक मस्यौदा तयार पारेर सम्बन्धित मुलुकमा पठाइसकिएको छ,’ उनले भने, ‘हामीले पठाएको मस्यौदाको जवाफ आएपछि थप प्रक्रिया अगाडि बढ्ने छ, यसका लागि केही समय लाग्न सक्छ ।’
द्विपक्षीय समझदारीका लागि नेपालले श्रम गन्तव्य पहिल्याउने र नेपालीहरुको वैदेशिक रोजगारीको यात्रालाई भरपर्दो र सुरक्षित बनाउन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सन् २०२४ सम्ममा साउदी अरेबिया, कुबेत, ओमान, पोर्चुगल, माल्टा, टर्की, पोल्याण्ड र युक्रेनलाई श्रम सम्झौताका लागि मस्यौदा पठाइएको छ ।
सरकारले साउदी र कुवेतसँग लामो समयदेखि श्रम सम्झौताका लागि पहल गर्दै आए पनि अहिलेसम्म परिणाम आउन सकेको छैन । यद्यपि केही समयअघि श्रम मन्त्रालयको टोलीसँग भएको द्विपक्षीय अन्तरक्रिया कार्यक्रममा साउदी अधिकारीहरुले श्रम सम्झौताका लागि तयार रहेको बताएका थिए ।
त्यस्तै मलेसिया तथा खाडी मुलुकको साटो अब युरोपलाई गन्तव्य बनाउनुपर्नेमा मन्त्रालयका अधिकारीहरुले जोड दिँदै आएका छन् । मानवअधिकार तथा श्रमिकको सुरक्षाका लागि युरोपेली मुलुक बढी सुरक्षित देखिएको भन्दै अब सरकारले युरोपलाई केन्द्रित गर्ने प्रवक्ता घिमिरेले बताए । सरकारले भर्खरैमात्र युरोपेली मुलुक जर्मनी र रोमानियासँग श्रम समझदारी गरेको छ । यसअघि बेलायतमा स्वास्थ्यकर्मी पठाउनेगरी सम्झौता भइसकेको छ । वैलायत नर्स पठाउने प्रक्रिया सुरु भइसकेको छ । जर्मनीमा पनि पठाउन आवश्य तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सम्बन्धित मुलुक हेर्ने राजदूतावासबाट हुने श्रमिकको माग प्रमाणीकरणमा समस्या देखिएका कारण ४० हजारभन्दा बढीले युरोपको रोजगारी गुमाउनुपरेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् ।