काठमाडौं– वैदेशिक रोजगारीमा जानेमध्ये झण्डै ८० प्रतिशत नेपाली श्रमिक ऋण लिएर जाने गरेको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले बिहिबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा जान ८० प्रतिशत नेपाली ऋणमा भर पर्ने गरेको देखिएको हो ।
पीएनसीसीले सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा जान ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको पनि देखाएको छ । त्यस्तै आप्रवासी श्रमिकमध्ये ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गर्ने गरेको अध्ययनले उल्लेख गरेको छ । उक्त अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकले आर्जन गरेको पूँजी उद्यमशिलता प्रवद्र्धनमा लगाउने सरकारी नीति भएपनि अर्थिक पहुँचको कमीका कारण उनीहरुलाई उद्यमी बनाउन चुनौति रहेको देखाएको छ ।
वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरूका कारण रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले आफ्नो कमाई बचत गर्न सक्षम नभएको बताइएको छ । श्रमिकले आफ्नो आम्दानी बचत गर्न नसक्नुमा करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका÷हराएकासँग सम्बन्धित मुद्दाहरूलाई कारण देखाइएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको र १६.५ प्रतिशत बेरोजगार रहेको देखिएको छ । यसले नेपाल फिर्ता आएपछि अप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसक्ने, नेपालको श्रम बजारमा उनीहरुको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको छ । वैदेशिक रोजगारीबाट फर्किएका लगभग ३३ प्रतिशत श्रमिकले विदेशमा सिकेको सीप नेपालको श्रम बजारसँग सान्दर्भिक नभएको, २० प्रतिशतले नेपाली श्रम बजार समान काम उपलब्ध नभएको र ११ प्रतिशतले प्राविधिक भिन्नताका कारण आफूले सिकेको सिप स्वदेशमा उपयोग गर्न नसकेको बताएका छन् ।
अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिक मध्ये ४४ प्रतिशत पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेको पनि बताएको छ । साथै पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेका श्रमिकमध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजनामा रहेको पनि उल्लेख गरेको छ । अध्ययन अनुसार फेरी वैदेशिक रोजगारीमा जाने योजनामा रहेका श्रमिकमध्ये ४६ प्रतिशतले आफुले पहिले नै वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण तिर्न बाँकी रहेको बताएको देखिन्छ । पीएनसीसीले सन् २०१४ देखि २०२२ सम्ममा दर्ता हुन आएका २२ हजार १४८ जना श्रमिकलाई समेटेर अध्ययन प्रतिवेदन तयार पारेको जनाएको छ ।