काठमाडौं– निर्वाचनपछि बनेको सरकारले एक वर्ष पुरा हुन लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुसँग समीक्षात्मक बैठकहरु जारी राखेका छन् । वर्ष दिनमा पनि खासै देखिने काम गर्न नसकेपछि प्रधानमन्त्री दाहाल यतिबेला तनावमा देखिन्छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले चौमासिक लक्ष्यलाई लिएर मंसिर २८ गतेको मन्त्रिपरिषद्मा मन्त्रीहरुसँग रोष पोखेका थिए । बैठकको सुरुमै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले तयार पारेको प्रतिवेदन देखाउँदै मन्त्रीहरुको काम गराइमाथि असन्तुष्टि पोखेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले तयार पारेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष सरकारको तीन महिनाको काम निकै निराशाजनक देखिन्छ । महाशाखाले नीति तथा कार्यक्रम र बजेटका आधारमा सबै मन्त्रालयका गरी १ हजार ६०० क्रियाकलाप र ३ हजार ४२१ माइलस्टोन तय गरी कार्ययोजनालाई एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्टि गरेर प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई बुझाएको थियो ।
मंसिर १९ मा सार्वजनिक प्रतिवेदन अनुसार विभिन्न २७ निकायका कार्ययोजनामा समावेश १ हजार ६०० क्रियाकलापमध्ये असोजसम्म ३.८८ प्रतिशत र ३ हजार ४२१ माइलस्टोनमध्ये ८.१३ प्रतिशतमात्र सम्पन्न भएका छन् ।असोजसम्म सम्पन्न हुनुपर्ने ७७५ माइलस्टोनमध्ये ३५.३५ प्रतिशतमात्र सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । १३.५५ प्रतिशत माइलस्टोन सुरू नै हुन सकेका छैनन् ।
नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्रालयमा बस्न माने गृहमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र अर्थमा वर्षमान पुनलाई ल्याउने प्रधानमन्त्री दाहालको तयारी छ
माओवादी केन्द्र
बुधबार मुख्यसचिवको प्रस्तुति
बुधबारको मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भया । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो ।बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले अपेक्षित काम हुन नसकेको ब्रिफिङ गरेका थिए । ‘मुख्यसचिवले कामलाई पिकअप दिन प्रक्रिया र इच्छाशक्तिमा रहेका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृतमा प्रस्तुति दिनुभयो,’ बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।
सरकार परिवर्तन र मन्त्री हेरफेरको हल्ला सरकार बनेदेखिकै हो । राष्ट्रिय सभाको निर्वाचनअघि मन्त्री हेरफेरको सम्भावना छैन
नेपाली कांग्रेस
कडै रुपमा जान्छु – प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले यो कार्यकाल सोचेजस्तो सफल नभएको स्विकार गरेका छन् । ‘मैले जति सोचेको हो, त्यसरी भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सीमा अप्ठ्यारो हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारीको कुरा हो,’ विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग भने । यसो त उनले सुशासनमा यो सरकार सफल भएको दाबी गरे । ‘तर, जे जति सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरा छ मेरो दाबी के हो भने सफल भएको छु भन्ने लागेको छ,’ उनले भने, ‘मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भू–माफियाविरुद्ध कदम चालिएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
प्रधानमन्त्री दाहालले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको ब्रिफिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए । ‘सबै मन्त्रालयको ब्रिफिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो,’ दाहालले भने, ‘यो प्लान अनुसार मन्त्रालयलाई टार्गेट दिइन्छ । फुलफिल भएन भने कडा रुपमा जाने ।’ प्रधानमन्त्री दाहालले आज सुनसरीका झोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवामा बनेको ४००÷२२०÷१३२÷३३ केभी सबस्टेसन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले एक वर्ष पुरा गरेको अवसरमा विशेष सम्बोधनको तयारीसमेत गरेका छन् । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालको यो सबैभन्दा लामो कार्यकाल हो । पहिलोपटक २०६५ साउन ३१ प्रधानमन्त्री बनेका उनले प्रधानसेनापति रुक्माङगत कट्वाल प्रकरणका कारण २०६६ वैशाख २१ गते नै राजीनामा ठोकेका थिए । दोस्रोपटक २०७३ साउन १९ गते प्रधानमन्त्री बनेका उनले २०७४ जेठ २३ मा राजीनामा दिनुपरेको थियो ।
आफ्नो रिपोर्टकार्डबारे हाँसेरै टारे
प्रधानमन्त्री दाहाल आफै सरकारमा कमजोर रुपमा प्रस्तुत भइरहेका छन् । गठबन्धनको सरकार भएकोले धेरै सीमा अप्ठ्यारो भएको दाहाल आफैले स्विकारिसकेका छन् । आइतबारमात्र कांग्रेस महामन्त्री गगन थापाले बागलुङ पुगेर अहिलेको सरकारको काम गराई नभएको बताएका थिए । ‘अहिलेको सरकारले १०० मा १० अंक मात्र प्राप्त गर्ने काम गरेको हुँदा अब अंक बढाउने काम गर्नुपर्छ,’ गगनले भने । यसबारे कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागेको छ नि भनी सञ्चारकर्मीले प्रश्न गर्दा दाहालले हाँस्दै भने, ‘त्यो पत्रिकाले भन्ने हो, मेरो रिपोर्ट कार्ड दिनदिनै गएको छ नि ।’ कांग्रेस नेता डा शेखर कोइारालाले सार्वजनिक रुपमै प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागेका छन् ।
मन्त्रिपरिषद्मा अर्थमन्त्री लगातार अनुपस्थित
अर्थमन्त्री डा प्रकाशशरण महत पछिल्ला मन्त्रिपरिषद्मा लगातार अनुपस्थित छन् । मंसिर २८ को मन्त्रिपरिषद्मा महत नुवाकोटमा महोत्सव उद्घाटन गर्न पुगेका थिए । उक्त दिन धेरैजसो मन्त्रीले अर्थ मन्त्रालयको सहमतिविना कुनै काम पनि नहुने तर अर्थले फाइल झुलाएको झुलायै गर्ने गरेको गुनासो पोखेका थिए ।
अर्थले फाइल रोकेर राखिदिने, कानुनी सल्लाह माग्दा कानुन मन्त्रालयले उस्तै ढिला गरिदिने, इआइए रिपोर्ट स्वीकृत गर्न वन मन्त्रालयले १ वर्षसम्म लगाइदिने लगायत कारण लक्ष्य अनुसार काम हुन नसकेको अधिकांश मन्त्रीको भनाइ थियो ।
मुख्यसचिव अर्यालले प्रक्रियागत त्रुटिको विषयमा प्रस्तुति दिँदा बुधबार अर्थमन्त्री उदयपुर सिमेन्ट कारखाना भ्रमणका लागि उदयपुर पुगेका थिए । बिहीबार भने अर्थमन्त्री पार्टीको कार्यक्रममा जनकपुर पुगेका थिए ।
गृह र अर्थमा हेरफेरको तयारी
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले मन्त्री हेरफेरको सूची दैनिक बदलिरहेका छन् । पछिल्लो दिनमा संस्कृतिमन्त्री सुदन किराती, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री महत, परराष्ट्रमन्त्री एनपी साउदसँग दाहाल रुष्ट छन् । दाहालले गृहमन्त्री श्रेष्ठलाई सेटल गराउन नसक्दा मन्त्रिपरिषद् हेरफेरमा ढिलाई भइरहेको स्रोतको दाबी छ ।
श्रेष्ठले परराष्ट्र मन्त्रालयमा बस्न माने गृहमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई इन्ट्री गराउने तयारी दाहालको रहेको छ । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री दाहालको सहमति भइसकेको दाबी गरिएको छ । ज्ञानेन्द्र कार्की देउवाका विश्वासपात्र हुन् । गृहको बदलामा माओवादीले अर्थ लिने र अर्थमा वर्षमान पुनलाई इन्ट्री गराउने गरी तयारी चलिरहेको बताइएको छ । वर्षमान दाहालका विश्वासपात्र हुन् ।
वर्तमान सत्ता गठबन्धनमा कांग्रेस पहिलो शक्ति हो । कांग्रेस स्रोतको भने राष्ट्रिय सभा निर्वाचनअघि मन्त्री हेरफेर हुनै नसक्ने दाबी छ । ‘सरकार परिवर्तन र मन्त्री हेरफेरको हल्ला सरकार बनेदेखिकै हो । राष्ट्रिय सभाको निर्वाचनअघि मन्त्री हेरफेरको सम्भावना देखिन्न,’ देउवा निकट कांग्रेसका एक नेताले भने । राष्ट्रिय सभाको १९ रिक्त स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।