काठमाडौं- वैदेशिक रोजगारीको लागि माल्टा र कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । उक्त मुलुकहरुमा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पिडितसँग रकम लिएर फरार रहेको आरोपमा बिरेन्द्र उदास र भिमबहादुर तामाङ रहेका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका– ७ घर भई ललितपुर सातदोबाटो बस्ने ५५ वर्षीय उदासले सबिता गुरुङलाई माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी नौ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई खोजतालासका क्रममा सातदोबाटोबाटै पक्राउ गरिएको बताइएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय तामाङले शुक्रबहादुर तामाङसमेतलाई कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी पाँच लाख २५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनलाई खोजतालसको क्रममा सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।