काठमाडाैं - एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा शुक्रबार गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हाे ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।
सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५% का दरले रु.२६,०९,१६,०००/– (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै,उक्त सभाले प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।
बैंकिङ क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको दिपक ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत हुन् र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।