- धनराज शेखरलाई जसरी पनि वरिष्ठ नेता बनाउनुपर्छ भन्ने प्रयासमा छन् । तर महामन्त्री थापा शेखरसँग साखको लडाइँ लडिरहेका छन् ।
- पार्टीमा शेखरभन्दा आफू वरीयतामा पहिलो भएको महामन्त्री थापाको दाबी ।
- अहिले शेखरको रोलक्रम २५औं नम्बरमा छ । सार्वजनिक कार्यक्रममा सभापति देउवापछि विशिष्ट अतिथि बने पनि केन्द्रीय समितिमा उनी अन्तिम सिटतिर बस्छन् ।
काठमाडौं– नेपाली कांग्रेसमा सभापतिमा भिडेर ‘रनर अप’ भएका नेताले प्रायः वरिष्ठ नेताको पद पाउँछन् । उक्त नेताको वरीयता सभापतिपछिको रोलक्रममा हुन्छ । यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुँदा कांग्रेस वरिष्ठ नेता थिए शेरबहादुर देउवा । १३औं महाधिवेशनमा पार्टी देउवाको कब्जामा आयो । लगत्तै रामचन्द्र पौडेल वरिष्ठ नेता बने । पौडेल देउवासँग रनर अप बनेका थिए ।
१४औं महाधिवेशनपछि सभापतिमा देउवा दोहोरिएका छन् । पौडेल देउवाको साथ पाएर शितलनिवासमा आराम गर्न पुगिसकेका छन् । रिक्त ठाउँमा डा. शेखर कोइरालाले दाबी पेस गरेको धेरै भइसक्यो । तर देउवाले कुनै सुनुवाइ गरेका छैनन् । डा. शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार निर्वाचित भए । धनराजलाई शेखरले सरकारमा मन्त्री बनाएर पठाएका छन् । यही कारण होला, धनराज शेखरलाई जसरी पनि वरिष्ठ नेता बनाउनुपर्छ भन्ने प्रयासमा छन् । तर महामन्त्री थापा डा. शेखरसँग साखको लडाइँ लडिरहेका छन् ।
डा. शेखर थापाले आफूलाई वरिष्ठ नेतामा ‘प्रोसेस’ नगरेकोमा रुष्ट छन् । थापा मन्त्रिपरिषद् भागबण्डादेखि कोशी सरकार निर्माण प्रकरणमा आफूलाई सामेल नगराएकोमा शेखरसँग रुष्ट छन् । त्यही कारण शेखरको समर्थनमा थापा खुलेका छैनन् । डा. शेखर केन्द्रीय समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेका सूर्यबहादुर थापाका छोरा सुनिल थापापछिको वरीयताको क्रममा राखिएको छ । अहिले डा. शेखरको रोलक्रम २५औं नम्बरमा छ । कांग्रेसमा सभापतिका प्रत्यासीलाई स्वतः केन्द्रीय सदस्य बनाउने प्रावधान रहेको छ । सार्वजनिक कार्यक्रममा सभापति देउवापछि विशिष्ट अतिथि बने पनि केन्द्रीय समितिमा अन्तिम सिटतिर बस्छन् डा. शेखर ।
वरिष्ठ नेतामा श्रेष्ठको पनि दाबी
कांग्रेसमा गोपालमान श्रेष्ठले पनि वरिष्ठ नेताको दाबी गर्दै आएका छन् । १४औं महाधिवेशनमा सभापतिको आकांक्षीसमेत रहेका श्रेष्ठको पक्षमा केही नेताहरुले केन्द्रीय समितिमा आवाज उठाएका थिए । केन्द्रीय सदस्य जीपछिरिङ लामाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने माग केन्द्रीय समितिमा गरेका थिए । तर श्रेष्ठको सक्रियता पार्टीमा खासै बलियो नदेखिँदा अरु नेताले उनलाई साथ दिएका छैनन् ।
उपसभापति खड्कासँग टसल
अहिले शेखरले उपसभापति पूर्णबहादुर खड्काका कारण आफूले दोस्रो वरीयता नपाएको गुनासो गर्दै आएका छन् । खड्का देउवा पक्षका नेता हुन् ।
बिहीबार मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय खड्का, गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालगायत नेताहरु सहभागी थिए । तर, वरीयता विवाद देखिएपछि कोइरालाले मात्रै होइन उनीनिकट नेताहरुले समेत कार्यक्रम बहिष्कार गरे । त्यसो त कार्यक्रममै पुगेका पूर्वउपसभापति विमलेन्द्र निधि दर्शकदीर्घामै बसेर मञ्च बहिस्कार गरेका थिए ।
मंसिर १६ मा भएको लुम्बिनी प्रदेश सम्मेलनमा कोइरालालाई दोस्रो वरीयता दिइएपछि उपभापति खड्का गएनन् । मंगलबार भएको गण्डकी प्रदेश सम्मेलनमा पनि त्यही दृश्य दोहोरियो । गण्डकीमा शेखर निकटका शुक्रराज शर्मा प्रदेश सभापति छन् । सोमबार नुवाकोट जिल्ला सम्मेलनमा पनि कोइरालालाई दोस्रो वरीयता दिँदा खड्का सहभागी भएनन् ।
गगन किन चाहँदैनन् शेखरलाई ?
निर्वाचनपछि शेखर सभापति देउवासँग भिड्न चाहन्थे संसदीय दलमा । तर अर्का महामन्त्री विश्वप्रकाशको साथ पाएर गगन देउवासँग भिडे । देउवासँग फराकिलो मतान्तरमा थापा पराजित भए । उनले यो मदतानमा शेखर पक्षबाट धेरै मत नआएको भन्दै शंका गरेका थिए । त्यसयता सरकार विस्तारमा देउवाले शेखरसँग छलफल गर्दा थापालाई भने भाग लगाउँदैनन् । जसकारण शेखर र गगन एक हुन सकेका छैनन् ।
कोशीको मुख्यमन्त्रीमा केदार कार्की आएपछि शेखरसँग थापा झनै असन्तुष्ट बने । जसका कारण शेखरको पछिल्लो भेलामा महामन्त्री थापान आउने पक्कापक्की भइसकेको थियो । तर थापाका ससुरासमेत रहेको नेता अर्जुननरसिंह केसीको प्रयासमा तत्कालका लागि दुई नेता एक भए । तर दुई नेता मनदेखि भने नमिलेको बताइन्छ । थापाले १५औं महाविधेशनमा आफूलाई सभापतिको उम्मेदवारको रुपमा अघि बढाइसकेका छन् । उनले पार्टीमा शेखरभन्दा आफू वरीयतामा पहिलो भएको दाबी गर्दै आएका छन् । ‘पार्टीमा महामन्त्री ठूलो कि केन्द्रीय सदस्य ?,’ थापानिकट एक नेता भन्छन्, ‘स्वतः महामन्त्री हो । शेखर त केन्द्रीय सदस्यमात्र हुन् ।’