दोलखा – दोलखाको शैलुङमा आयोजना गरिएको शैलुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रासँगै ‘स्रष्टा घर’ शिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यिक पत्रकार सङ्घको आयोजना तथा संयोजन एसएस फाउन्डेसन काठमाडौँ–८ शैलुङ र समाजसेवी शोभित उप्रेतीको सहयोगमा आयोजना गरिएको कविता यात्रामा कलाकार तथा साहित्यकारको सहभागिता रहेको थियो । श्रीबाबु कार्की, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, गायिका ऋतु कँडेललगायत सहभागी थिए । यही पुस ४ देखि ६ गतेसम्म भएको उक्त कार्यक्रममा साहित्यकारहरुले शैलुङको थुम्कामा उपस्थित भई आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ‘शैलुङ स्रष्टा घर’समेत शिलान्यास गरिएको छ । समाजसेवी उप्रेतीले साहित्यकारहरुको सम्मानमा लाखौँ मूल्यको जग्गा भवन बनाउन उपलब्ध गराएका हुन् । शैलुङको कालापानीमा शिलान्यास गरिएको उक्त भवन निर्माणपछि साहित्यकारका लागि उत्कृष्ट गन्तव्य हुने समाजसेवी उप्रेतीले बताए ।
शैलुङको डाँडामा बसेर साहित्यिक विधाको अध्ययन अवलोकनसँगै साहित्य सिर्जना गर्न सहज हुने वरिष्ठ कलाकार श्रेष्ठको भनाइ छ । शैलुङको पर्यटन विकासमा स्रष्टा घरबाट मद्दत पुग्ने उनी बताउँछन् ।