काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा महिला घरेलु कामदार जान लगाएको बन्देज फुकुवा गरी वैधानिक बाटो खुला गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन खाडी मुलुकहरुमा नेपाली महिलाहरुलाई घरेलु कामदारको रुपमा जान लगाइएको बन्देजप्रति आपत्ति जनाउँदै उनीहरुले तत्कालै खुला गर्नुपर्नेमा जोड दिएका हुन् ।
लैंगिक विभेदका कारण वैदेशिक रोजगारीका लागि घरेलु श्रममा जाने महिलाहरु गैरकानुनी बाटो प्रयोग गर्न बाध्य भएको श्रम तथा आप्रवासन क्षेत्रका अनुसन्धानकर्ता रामेश्वर नेपालले बताए । खाडी मुलुकमा जान चाहने घरेलु महिला कामदारलाई श्रम स्वीकृतिमा लगाउँदै आएको बन्देज फुकुवा गरी सुरक्षितरुपमा जाने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे । ‘महिला घरेलु कामदारलाई रोजगारीका लागि विदेश पठाउन रोक लगाउनु भनेको संविधानमात्रै नभएर मानवअधिकारको मर्मविपरीत छ,’ उनले भने, ‘कुनै विकल्प नदिई सरकारले विभिन्न सर्त राखेर घरेलु कामदारमाथि बन्देज लगाइराख्नु विभेदको नमूना हो ।’
अहिलेको परिस्थितिमा महिलाहरुले पुरुषसरह नै काम गर्न सक्ने र उनीहरुलाई सक्षम बनाएर पठाउनुपर्ने दायित्व सरकारको रहेको श्रमविज्ञ डा. मीना पौड्यालले बताइन् । उनले सांसदहरूको भूमिकामाथि प्रश्न उठाउँदै आफूलाई भोट दिएर जिताउने मतदातालाई नै विदेशमा काम गर्न जानबाट रोकिएको आरोप लगाइन् । त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले महिला घरेलु कामदारमा खाडी मुलुक जान बन्देज लगाएपछि दलालमार्फत गैरकानुनीरुपमा जानेहरूको संख्या ह्वात्तै बढेको बताए । उनले सरकारी संयन्त्रले एउटा मापदण्ड बनाई सुरक्षित तवरले संस्थागतरूपमा म्यानपावर व्यवसायीमार्फत त्यस्ता कामदारलाई पठाउनुपर्ने माग गरे । ‘एकातिर इलिगल रूपमा गए भनेर चिन्ता गरिरहेका छौं, अर्कोतिर दलालमार्फत लाखौं तिरेर महिलाहरु असुरक्षित तरिकाले विदेश गइरहेका छन्, यसप्रति सरकारले ध्यान देओस्,’ उनले भने ।
सरकारले लगाएको प्रतिबन्धका कारण वार्षिक ५० हजारभन्दा बढी नेपाली महिला गैरकानुनीरुपमा खाडीलगायतका मुलुकमा गइरहेको नेपाल घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधानले बताए । केही महिला दुबईबाट इराक, सिरिया, कुर्दिस्तानलगायत अन्य मुलुृकहरुमा घरेलु कामका लागि तस्करी भइरहेको भन्दै उनले वैदेशिक रोजगारमा जाने घरेलु महिला कामदारको तस्करी रोक्न प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताए ।
त्यसैगरी महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा सरकारलाई पटक–पटक सुझाव दिए पनि कार्यान्वयन हुन नसकेको आप्रवासी महिला समूह (आम्कास) नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले बताइन् । ‘प्रतिबन्धका कारण नेपाली महिलाहरू झन् जोखिममा परिरहेका छन्,’ उनले भनिन्, ‘प्रतिबन्धले जोखिम बढाएको छ, महिलाहरूलाई आवश्यक तालिम दिएर दक्ष बनाएर पठाउनुपर्छ ।’
यस्तै कार्यक्रममा फरक धारणा राखेका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मापदण्ड पालना नगर्ने खाडी मुलुकहरुमा घरेलु कामका लागि नेपाली महिलालाई पठाउने कुरा उपयुक्त नहुने बताए । ‘खाडीबाट फर्केका घरेलु महिला कामदारको दृष्टान्त हेर्दा र सुन्दा कहाली लाग्दो छ,’ उनले भने, ‘उहाँहरु ती मुलुकमा नेपाली महिला घरेलु कामदार जानुपर्छ भन्ने पक्षमा हुनुहुन्न, सरकारले सोच विचार गरेरै बन्देज लगाएको छ, आवश्यताअनुसार निर्णय हुन्छ नै ।’