मेलम्चीको पानी... । खानेपानीले काकाकुल काठमाडौं उपत्यकावासीको सपना हो, मेलम्ची खानेपानी आयोजना । वर्षौंदेखिको सपना आजसम्म पूरा नहुँदा आक्रोसित छन् यहाँका जनता । आक्रोसित पनि किन नहोस्, खानेपानीको अभावले हैरान भएका छन् जनता । जमिन सबै कंक्रिटले छोपिएका छन् । प्राकृतिकरुपमा पानी ‘रिचार्ज’ हुने ठाउँ छैन । अनि घरैपिच्छे बोरिङ र इनारबाट तानिएको छ । कसरी आउनु पानी ? अझ ठाउँ–ठाउँमा डिप बोरिङ गरेर ठूलो मात्रामा पानी निकालिएको छ । ती डिपबोरिङबाट घर–घरमा पाइप जोडिएको छ । तर पानी आउँदैन । अनि जनता बाध्य छन् ट्यांकर र जारको पानी किन्न ।
यता मेलम्ची खानेपानी आयोजना काठमाडौंमा अहिले पानी पठाउने भनेको अस्थायी रुपमा मात्रै भएको बताउँछ । पानी पठाउन ३८ नम्बर गेट तयारी अवस्थामा रहे पनि बाढीका कारण भित्री सुरुङमार्ग थुनिएको छ । काठमाडौंमा पानी पठाउने पाइप र सानो सुरुङ सफा गर्नुपर्ने आयोजनाको भनाइ छ । पाइप र सानो सुरुङ सफा गर्न एक महिनाजति समय लाग्ने अनुमान छ । तर सफा कसरी गर्ने ? यसका लागि बोर्डले निर्णय गर्नुपर्ने भन्दै आयोजनाले गैरजिम्मेवारीपन देखाइरहेको छ । आयोजनाको बोर्ड निर्णय गर्न सक्ने अधिकार सम्पन्न नभएकोले अहिले यो सफाइ सुरु नभएको आयोजनाले जनायो ।
मेलम्चीको पाइप घरघरमा पुगेको छ । पाइप जोडिँदा निकै हर्षित भएका जनता अहिले पाइपमाथि आक्रोस पोखिरहेका छन् । हुन पनि पानी नआउने पाइपको के अर्थ ? यता मेलम्चीको पानी ल्याउने नारा लिएर सत्तामा पुग्नेहरुले मेलम्चीको मुहान घुम्नेबाहेक नतिजामुखी काम गर्न सकेको देखिँदैन । काठमाडौंमा खानेपानीको हाहाकार भएयता दैनिकजसो नेता–मन्त्री सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची हेडवक्र्स पुग्छन् । प्रधानमन्त्री, मन्त्री, सभामुख, सांसदलगायत सबैजसो मेलम्चीको मुहान पुगे पनि कुनै प्रगति हुँदैन । गत असारबाट पानी ठप्प रहेको छ । वर्षात्को समय बन्द गरिएको मेलम्चीको पानी पुसको मध्य लाग्न लाग्दासम्म ल्याउन नसक्नु सरकारको लाचारीपन हो । जनताप्रति योभन्दा गैरजिम्मेवारीपन के हुनसक्छ ? किन तत्काल काठमाडौंमा पानी ल्याउने काम गर्न सक्दैन सरकार ?
आयोजनाका अनुसार सुरुङ सफा गर्ने जिम्मेवारी सिनो हाइड्रोको हो । तर सिनोले यस्तो सानो काममा हात नहाल्ने भन्दै पन्छिँदै आएको छ । तर स्थलगत भ्रमणमा पुगेका नेता प्रदीप पौडेलले भने सुरुङ सफा गर्ने विषय खासै ठूलो नदेखिएको बताए । उनको भनाइमा बाढीले जम्मा गरेको फोहोर धेरै फाल्नुपर्ने देखिँदैन । अलि प्रयास गरे छोटै समयमा खोल्न सक्ने उनको भनाइ छ । त्यसो भए सरकारले किन प्रयास गरिरहेको छैन ? जनतालाई प्रस्ट जवाफ दिनुपर्छ ।