काठमाडौं– रोमानियाले २० हजार नेपाली श्रमिकका लागि भिसा स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउनेगरी भिसा स्वीकृति दिएको हो ।
आकर्षक श्रम गन्तव्यको रूपमा लिइने युरोपेली मुलुक रोमानियामा यसअघि झण्डै २० हजारभन्दा बढी नेपाली पुगिसकेको मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । ‘अबको वैदेशिक रोजगारी युरोप लक्षित हुनुपर्छ भनेर मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘रोमानियाले बढीभन्दा बढी नेपाली कामदार लैजान चाहेको छ, उसले २०२४ का लागि २० हजारको भिसा स्वीकृति दिएको छ ।’ रोमानिया जाने नेपालीहरुको संख्या बढ्दै गएपछि सरकारले गत असोज १९ मा रोमानियासँग श्रम समझदारी गरेको थियो ।
उक्त समझदारीपश्चात् रोमानिया जाने नेपालीको संख्यामा पनि बढोत्तरी आएको उनले उल्लेख गरे । रोमानियासँग नेपालको कूटनीतिक सम्बन्ध ५५ वर्षदेखि कायम रहेको छ ।
रोमानिया र जर्मनीसँग एकै समयमा श्रम समझदारी गरे पनि जर्मनीमा कामदार पठाउने सम्बन्धमा अझै केही समय लाग्ने सचिव भण्डारीले बताए । त्यस्तै बेलायतसँग गरिएको श्रम सम्झौताअनुसार अहिले सरकार नर्सहरुलाई बेलायतको स्वास्थ्य क्षेत्रमा पठाउने चरणमा रहेको उनले जानकारी दिए ।