दमौली- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए छन । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको जनाए ।
सभापति देउवाले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे ।
सभापति देउवाले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।’
यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन ।