काठमाडौं– भारतको बाटो भएर वैदेशिक रोजगारीका लागि कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) हिँडेका दुई महिलासहित आठजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृति र नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर जान लागेका उनीहरु मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
मुम्बईहुँदै कुवेत र युएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति र एनओसी नक्कली रहेको अध्यागमनका अधिकारीहरूले पत्ता लगाएपछि उनीहरुलाई उडानमा रोक लगाउँदै पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । अध्यागमन अधिकारीहरूले नेपालको श्रम मन्त्रालय (वैदेशिक रोजगार विभाग) नेपाली दूतावाससँग श्रम स्वीकृति र एनओसी ‘क्रस–भेरिफाइ’ गर्दा उस्तै देखिए पनि श्रम स्वीकृति दिएको प्रमाणित गर्न नसकिने जवाफ दिएका कारण ती कागजात नक्कली पुष्टि भएको प्रहरी अधिकृतले बताएको समाचारमा जनाइएको छ ।
नक्कली श्रम स्वीकृति र एनओसी बोकेका दुई महिला माइली बोम्जन र भगवती डाँगीलाई शनिबार मुम्बई विमानस्थलबाट पक्राउ गरिएको हो । यसअघि २० डिसेम्बरमा छ जनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्ने छ जनामा रुपल खड्का, अरुण खड्का, करण बोहरा, सुजन बोहरा, राजकुमार तामाङ र दीपेश लामिछाने रहेका छन् । उनीहरु प्रत्येकसँग १५ हजार रुपैयाँ लिएर एजेन्टले नक्कली एनओसी बनाइदिएको र सोही अधारमा युएई जान खोजेको प्रहरीले जनाएको छ ।
नेपालको श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले आफ्नो प्रणालीमा उल्लिखित व्यहोराको कुनै दस्तावेज नभेटिएको भन्दै नक्कली भएको मेलमार्फत जवाफ दिएपछि श्रम स्वीकृतिसम्बन्धी कागजात नक्कली पुष्टि भएको अध्यागमनका अधिकारीले बताएका छन् । रोजगारीका लागि कुवेत जान माइलीले एजेन्टलाई १० हजार रुपैयाँ दिएको बताइएको छ । डाँगीले भने भिसा, श्रम स्वीकृति र उडानका लागि आवश्यक कागजात तयार पार्न उमेश नामको एजेन्टलाई दुई लाख २० हजार रुपैयाँ तिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका आठ जनालाई नै भारतीय दण्ड संहिता खण्डअन्तर्गत ठगी र जालसाजी गरेको अभियोगमा दुई अलग–अलग मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
नेपाल सरकारले वैदेशिक रोजगारीका लागि भिजिट भिसामा युएई, कतारलगायतका मुलुकमा जान कडाइ गरेपछि एजेन्टहरुले भारतीय बाटो प्रयोग गर्दै लैजाने गरेको पाइएको छ । पछिल्लो समय भारतबाट युएई, कतारलगायतका मुलुकमा अवैध तरिकाले जाने नेपालीहरुको संख्या बढेपछि दिल्लीस्थित नेपाली राजदूतावासबाट एनओसी लिएरमात्रै जान पाइने व्यवस्था गरिएको छ । सोही कारण भारतको विमानस्थलबाट विदेशिने नेपालीहरुले अनिवार्य एनओसी जाँच गराएर मात्र उडान गर्न पाउने छन् ।