स्कुलको मुख्य द्वारमा गेटपाले । अनि अलि अगाडि ठूलो–ठूलो पाखुरामा हरिया नीला टाटो लगाएका भुसतिघ्रे केटो । हेर्दै डरलाग्दो । विचरा गधालाई भारी बोकाएजस्तै गरी असिनपसिन हुँदै स्कुलको गेटमा पुगेका केटाकेटी सधैं भुसतिघ्रेको त्रासमा भित्र छिर्नुपर्ने ।
काठमाडौंको सडक । यता मेलम्चीले बाटो खनेर प्वाल पारेको छ । उता विद्युत् प्राधिकरणले तार बिछ्याउने भन्दै खाडल बनाएको छ । त्यसमाथि पनि पेटीमा रंगीचंगी ब्लक बिछ्याइरहेका कामदारहरूले आफ्नो कामबाहेक अरू कुरा त के सोच्न भ्याउँथे ? धूलोमुक्त काठमाडौंको सात वर्षअघिको अभियान कता पुग्यो पुग्यो ।
त्यही अभियानकै कारण होला भारी बोक्ने गधाजस्तै जुत्तामा धुलैधुलो बोकेर स्कुलको गेटबाट भित्र छिरेको मट्यांग्रालाई भुसतिघ्रेले च्याप्प कठालोमा समातेर तान्यो ! कालो झोलामा किताबको भारीले नै तानेर उत्तानो पार्लाजस्तो गरी हिँडेको मट्यांग्रालाई भुसतिघ्रेले देब्रे हातले तानेपछि विचरा मट्यांग्रा पुसको डण्डीमा जाडोले काँपे जस्तै गरी लगलगी काँप्न थाल्छ ।
देब्रे हातले कठालोमा समातिरहेको भुसतिघ्रेले जुत्तामा देखाउँदै भन्छ, ‘यो के हो’ ? मट्यांग्राले डरले काँपेको स्वरमा भन्छ, ‘सर, बाटोभरि धुलैधुलो छ । घरमा मम्मीले पोलिस लगाइदिएको हो । आउँदा आउँदै धुलो भो ।’ ऊ दोहोरो संवाद गर्दैन । भुसतिघ्रेले दाहिने हातले गालामा चड्याम्म हान्छ । एक झापटमै रन्थनिएको मट्यांग्राको आँखाबाट आँसु तुरुक्कै चुहिन्छ । ऊ बोल्न सक्दैन ।
चर्को स्वरमा भुसतिघ्रे भन्छ, ‘खुरुक्क जा भोलिदेखि यस्तो नहोस् ?’
देब्रे हातको कुमले आँखाको आँसु पुछ्दै ‘हवस् सर’, मट्यांग्रो कक्षा कोठातिर जान्छ ।
आजकल स्कुलको भुसतिघ्रे निकै जब्बर भएको छ । साना केटाकेटीलाई निकै थर्काउँछ । अस्तिको दिन पनि कक्षा १० मा पढ्ने शर्मिलीलाई ‘सेतो रिबन’ नलगाई आएको भनेर चुल्ठै चुँडिएलाजसरी भुत्लाएको गेटको पालेले सहन नसकेर स्कुलको हेडमास्टरलाई गुनासो नगरेको पनि होइन । तर गेटपालेको के मतलब ? किन सुन्ने कुरो ! त्यही भुसतिघ्रेकै पो सुन्छन् ।
स्कुलमा भुसतिघ्रेले आपूmहरूलाई दिएका पीडा बच्चाहरूले घरमा गएर भन्न पो कहाँ सक्थे र ? घरमा गएर भनौं भने बाउआमाको गाली खाने डर, भनौं भने भोलि फेरि त्यस्तै भुसतिघ्रेको कुटाइ खाने डर । मट्यांग्राले खाएको चट्कन र शर्मिलीको भुत्लाइले पालेदाइको मन पात्र पोलेको छ । स्कुलका कुनै शिक्षक शिक्षिकालाई दुखेको छैन । विचरा दुखोस् पनि किन, पाल्तु भुसतिघ्रेहरूले नै स्कुलमा हुने चन्दा आतंकलाई रोकेका छन् ।
दलका झोला बोक्नेहरूका संगठनले चन्दा मागेर वाक्कै भएर पनि स्कुलहरूले पनि आफ्नो शक्ति देखाउनका लागि चर्को मूल्य तिरेर भुसतिघ्रे राखेका छन् । हुन स्कुलका साहु अनि सरकारी राहु पनि उस्तै त हुन् । दलको झोला बोकेर नेतागिरी गरेरै महँगा पढाउने पसल खोलेका छन् । अधिकांश निजी स्कुले एमाले–कांग्रेसकै कार्यकर्ता अझ नेताहरूकै छन् । त्यही भएर पनि स्कुलले सक्दो शुल्क उठाउने गरेका छन् ।
निचोर्न सकेजति निचोरिरहन्छन् । उडुसले चुसेजस्तै गरी चुसिरहन्छ । जुत्ता मोजादेखि किताब कापी मस्तै व्यापार गर्न पाएका छन् । अझ दालभात तरकारीको व्यापार त झन् फस्टाएको छ । विद्यार्थीले बाहिर कापी कलम किनेको मात्र थाहा पाए पनि त्यही भुसतिघ्रले कारबाही गर्छ ।
‘पढ्यो गुन्यो के काम हलो जोती खायो माम’ भनेजस्तै गरी बाउआमाले स्कुल पठाउँदा अन्तै भाग्ने कक्षामा सधैं अन्तिममा बस्ने र परिणाम पनि अन्तिमबाट पहिलो हुने भुसतिघे्रले अशासनको पाठ पढाउने भएपछि विद्यालयको शिक्षाको गुणस्तर त निकै नै माथि पुग्ने नै भयो ।
‘भुसतिघ्रे’ मट्यांग्राको दुई दर्जन केटाकेटीले आफ्नो स्कुलको अनुशासन इञ्चार्ज ‘डिआई’को नाम राखिदिएका हुन् । एउटा न एउटा बहानामा विद्यार्थीहरूलाई ठिंग उभ्याउने । बच्चालाई मानसिक तनाव दिने । कहिले गाला चट्काउने, कसैलाई कपालै उखेल्नेगरी भुत्लाउने । त्यही गुण्डाजस्तो भुसतिघ्रेले तनाव दिएकै कारण मिशन त एकोहोरो टोलाइरहन्छ रे त्यसका बाबुले भनेका । विद्यालय नै जान नसक्नेगरी मानसिक बिरामी परेको छ । अघिल्लो हप्ता त स्कुल हिँडेको केटो कता पो गयो । छोरो हराएपछि बाबुआमा छिमेकी इष्टमित्रले खोज्दा पत्तै लागेन । प्रहरीले पनि नखोजेको कहाँ हो र ! बल्ल दुई दिनपछि गोकर्णको जंगलमा बेहोस अवस्थामा फेला परेथ्यो । यादै भएन रे !
जो कहिल्यै अनुशासनमा बसेन उसैले अनुशासन सिकाउने दिन पनि आए भन्छन् भर्खरका मट्यांग्राहरू । स्कुल जानै मन नलाग्ने भइसकेको छ मट्यांग्रालाई । बाउआमा पनि दिक्क भइसकेका छन् । कसलाई भन्ने ? कसले टेर्ने ? स्कुल चलाउने सबै नेता । त्यही नेताले पालेको भुसतिघ्रे डिआई । स्कुलमा किन चाहियो ट्याटु खोपेको, जगल्टे, भुसतिघ्रे डिआई ?
स्कुल कराँते खेल्ने ठाउँ हो र ? कि बक्सिङ अखडा हो ? अभिभावकहरूलाई लुट्ने, तीन तारे होटलजसरी भात बेच्न, कपडा बेच्न, कापी कलम बेच्न खोलेको स्टेसनरी पसल हो स्कुले ? स्कुल सरस्वतीको मन्दिर हो कि कौरव र पाण्डवबीचको रणमैदान । त्यसो हो भने अनुशासनमा बस्ने शिक्षकले पो सिकाउनुपर्ने होइन ? कक्षा शिक्षक वा अतिरिक्र क्रियाकलापको विज्ञ मानिएको व्यक्ति पो हुनुपर्ने होला नि त अनुशासन इञ्चार्ज (डिआई) !
हिजो टोलमा बसेर गुण्डागर्दी गर्नेलाई डिआईको जागिर ख्वाएर बच्चालाई तर्साउने हो ? अभिभावकसँग टन्नै असुल्ने तर राज्यलाई कर तिर्नुपर्ने बेला सेवा गरेको भन्दै कर ढाँटेका कारण चन्दा माग्न आउनेलाई तर्साउन राख्ने हो डिआई ? विद्यालयलाई हिजो मन्दिर मानिन्थ्यो भने मन्दिर नै बनाउन । किन झगडाको बीउ रोप्ने चौतारो बनाउनु ?
हुन त देश नै डिआईजस्तै भष्मासुरहरूले हाँकेका छन् । गुण्डा गर्ने, डकैती गर्ने, अपराध गरेर जेल परेकाहरू मन्त्री बनेका छन् । तीन करोड जनतालाई यिनै भष्मासुर डिआईले तर्साएका छन् । त्यही भएर नि होला साना–साना स्कुल जाने मट्यांग्राहरू तर्साउन स्कुलमा डिआई राखेका छन् ।