प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्री भएको वर्ष दिन पूरा भएको छ । आर्थिक संकटमा देश फसेको बेला प्रधानमन्त्री बनेका दाहालको अगाडि विकास, सुशासन, संघीयता कार्यान्वयन, कानुन निर्माणका चाङका चाङ विषय थिए । यो भन्दा ठूलो चुनौती दाहाललाई नेतृत्व जोगाउनु थियो । तेस्रो दल भए पनि सत्ताको नेतृत्व हत्याएका दाहालले कुर्सी जोगाउन एमालेको काँधबाट उफ्रेर कांग्रेसको काँधमा आउनुपरेको थियो ।
कांग्रेससँग दाहालको अहिले केमेस्ट्री मिलेर होला, सत्ता टिकिरहेकै छ । त्यसैले मन्त्री हेरफेरमा कडै रुपमा प्रस्तुत हुन्छु भनेर चेतावनी दिएका दाहालले जनताको नाममा सम्बोधन गर्ने क्रममा यिनै मन्त्रीहरुमाथि कृतज्ञता जनाएका छन् । सुरूमा घुमाउरो पारामा मन्त्रीहरुमाथि घुर्की लगाए पनि सम्बोधनको अन्त्यमा भनेका छन्, ‘गठबन्धन सरकार भन्नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ तर म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी । यो एक वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्चारजगत र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु ।’
दाहाल आफैंले पनि सरकारले खासै काम गर्न नसकेको अस्पष्ट शब्दमा भनेका छन् । त्यसैले उनले बेलाबेला मन्त्रीहरुसँग रिपोर्ट कार्ड माग्थे । तर मन्त्रीहरु पनि के कम ? कानुन र बजेट देखाउँदै प्रधानमन्त्रीमाथि उल्टै झोक्किन्थे । यस्तो अवस्थामा दाहालले आफ्नो पद जोगाइराख्नबाहेक वर्ष दिन खासै केही काम गर्न सकेनन् । कूटनीतिक सफलता भनेर दाहालको रटान त सुनिन्छ, तर धेरै समय उनले विदेश भ्रमणमा समय विताए । आफ्नो पालामा केही नभएपछि आफू जोगिन दाहालले प्रधानमन्त्री कार्यालयको कार्यशैली फेरिने बताएका छन् । प्रधानमन्त्री सचिवालयमा चर्को खर्च भएपछि आरोप खेपेका दाहालले साता दिनभित्र संरचना फेर्ने दाबी सम्बोधनमा पेस गरेका छन् ।
प्रशासनमा हेर्दा प्रधानमन्त्री कार्यालयमा पाँच जना सचिव कामविहीन अवस्थामा छन् । सचिवालय भद्दा बनाइएको छ । तिनको काम राजनीतिक गफ दिनेबाहेक केही छैन । काम नपाएपछि राजनीतिक सल्लाहकारका रुपमा नियुक्त हरिबोल गजुरेलले राजीनामा दिइसकेका छन् । सुरुका दिनमा भ्रष्टाचारविरुद्ध जेहाद छेड्ने शैलीमा प्रस्तुत भए पनि दाहाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले गुमनाम छन् । सरसर्ती हेर्दा प्रधानमन्त्री दाहाल एक वर्ष सत्ता जोगाउन सफल भएका छन् । के सत्ता जोगाउन सक्नु नै सफलता हो त ? पक्कै पनि होइन, जनतामा आशा जगाउन नसक्नु अझ ठूलो असफलता हो ।