कपिलवस्तु - जेष्ठ नागरीक पार्क व्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतम बुद्धको मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर-२ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको हाे ।
मूर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पूर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रजिअ विश्व प्रकाश अर्यालले पर्दा उघारेर संयुक्त रुपमा अनावरण गरेका हुन्। मूर्ति अनावरण कार्यक्रममा भिक्षुले बुद्ध परम्परा अनुसार प्रार्थना समेत गरेका थिए। ज्ञान माला भजन खलः स्वयम्भु र चः मति नेवा खल काठमाडौँ सदस्यहरुको सहयोगमा झन्डै ५ लाख पर्ने मूर्ति पार्कमा स्थापना गरिएको जनाइएकाे छ ।
चार कठ्ठा क्षेत्रमा रहेको पार्कमा मूर्ति स्थापनाले थप सुन्दरता थपिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका र वडा कार्यालय, प्रदेश सरकार लगायतको सहयोगमा पार्क निर्माण गरिएको थियो।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगर भित्रै रहेको एक मात्र ज्येष्ठ नागरिक पार्कमा महामानव बुद्धको मूर्ति स्थापना हुनु गौरवको कुरा भएको बताए। उनले पार्कमा बुद्धको मूर्ति स्थापनाले पार्कसहित नगरकै गरिमा बढेको बताए। उनले पार्कको सुन्दरीकरणमा पालिकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।
ज्येष्ठ नागरिक पार्क निर्माण समितिका अध्यक्ष माधवराज शर्माले पार्कमा बुद्धको मूर्ति स्थापना भएको खुसी व्यक्त गरेका छन् ।