प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारमात्र आफ्नो कार्यशैली सुधार्ने बताएका थिए । यतिमात्र हैन प्रधानमन्त्री दाहालले केही पूर्व निर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने बताएका थिए । तर आफूले बोलेको वाचा एकाएक भुलेर दाहाल भोलिपल्टै गोरखाको घ्याल्चोक पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सेनाको हेलिकप्टर लिएर गएका दाहालले दुई दुई वटा कार्यक्रममा सहभागी हुन भ्याए ।
प्रधानमन्त्री दाहाल शुरुमा वारपाक पुगे जहाँ स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमपछि दाहाल पुगे गण्डकी गाउँपालिकामा रहेको घ्याल्चोक ज्यामिरघाटमा । ज्यामिरघाट जहाँ दाहालकी नातिनी प्रतिभा र ज्वाइँ विज्ञानबाबु रेग्मीको घर थियो । कार्यक्रमस्थलमा स्थानीय र ज्वाइँ, नातिनी प्रतिभाले उनलाई स्वागत गरे । केही समय नातिनीको घरमा खुसामद पनि भयो । छोरी रेणु दाहालकी सुपुत्री प्रतिभाको हालै गोकर्ण रिसोर्टमा विवाह भएको थियो । उक्त विवाहका कारण पनि दाहालको आलोचना भएको थियो ।
नातिनीको घर पुग्दा पनि उनी विवादमा तानिएका छन् । सामान्यतय परिवारसँग भेट्नु नौलो विषय हैन । तर घ्याल्चोकमा पार्टीको कार्यक्रममा पुग्नुलाई पार्टीकै नेताहरुले आकस्मिक भनेका छन् । प्रधानमन्त्री आफैले गरेको वाचा तुरुन्तै भुल्नु कदापि ठीक हुन्न । अहिले सरोकारवालामात्र हैनन् जनता आफै पनि सरकारको मनोटरिङ गर्न सक्ने भएका छन् । भन्ने एउटा, गर्ने अर्कै हुँदा प्रधानमन्त्रीलाई मन्त्रीले त के सामान्य कर्मचारीले पनि नटेर्न सक्छन् । कमजोरी स्विकार गर्दै कार्यशैली बदल्ने र काम केही गर्न नसके पद नओगट्ने प्रधानमन्त्रीको वाचा हो ।
मन्त्रीहरुको रिपोर्ट कार्ड माग्ने, सचिवहरुको रिपोर्ट कार्ड माग्ने, कूटनीतिक नियोगका प्रमुखहरुको रिपोर्ट कार्ड माग्ने तर आफू भने आफ्नै वाचा उल्लंघन गर्दै हिँड्ने पक्कै पनि नैतिक विषय होइन । यतिमात्र हैन प्रधानमन्त्री दाहाल पछिल्ला दिनमा आफ्नो सरकारका मन्त्रीहरुको काममा जस नदिने बरु आफै जस लिन खोज्दै अघि बढेको देखिन्छ । प्रधानमन्त्री समन्वयकर्ता हो । आफै काममा अघि सर्ने होइन । यसले गर्दा प्रधानमन्त्री र मन्त्रीबीच द्वन्द्व सिर्जना हुन्छ । एक वर्षको समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले केही मन्त्रीबाट यस्तो टसल फेस गरिसकेका छन् । अरुलाई सुध्र भन्नेले पहिले आफै सुध्रेर देखाउने कि ?