काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बौनियाँ, कैलालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कूल व्याग, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक कृयाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पुर्याउने बताए । इलाका कार्यालय धनगढीका प्रबन्धक जनार्दन ढकालको सभापतित्व तथा शाखा प्रबन्धक कृष्ण खनालको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्य लगायतको उपस्थिति थियो ।