काठमाडौं– मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।
राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो ।
प्रहरीले यसअघि मृतकको सङ्ख्या १५ रहेको र स्थानीयहरू घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो ।
लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने, “त्यहाँ धेरै मानिसहरू जलेका छन् । मृतकको सङ्ख्या तत्काल यति नै रहेको भन्न कठिन छ ।”
अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्यास भरिरहेका समय ट्याङ्कर विस्फोट हुँदा हताहत हुनेको सङ्ख्या धेरै पुगेको छ ।
टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले भने, “मानिसहरू ग्यास लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्याङ्करबाट ग्यास निकाल्न फलामका रडले ट्याङ्की खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो ।”