काठमाडौं– कम्युनिस्टहरू धर्म मान्दैनन् भन्ने स्थापित मान्यतालाई नेपाली कम्युनिस्ट नेताहरूले भत्काइदिएका छन् । बरु, कम्युनिस्टहरू धर्मप्रति अति नै बफादार हुन्छन् भन्ने नयाँ मान्यता स्थापित गरेका छन् । पछिल्ला वर्षमा एकपछि अर्का नेपाली कम्युनिस्ट नेताहरू धमाधम धार्मिक नेताजस्तै देखिँदै जानुले यसको पुष्टि हुन्छ । पूर्वकूटनीतिज्ञसमेत रहेका पुराना कम्युनिस्ट नेता डा. टंक कार्कीका अनुसार कोहीकोही कम्युनिस्ट नेता त अतिवादी धार्मिक नेताकै रूपमा प्रस्तुत भइरहेका छन् ।
३० मंसिरमा सकिएको एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसँगै उपाध्यक्षहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे ठाउँठाउँका मन्दिरहरू पुगे । हिन्दु धार्मिक पोशाक लगाए । धर्मगुरुहरूबाट आशीर्वाद थाप्दै हिँडे । सार्वजनिक भएका तस्विरका आधारमा भन्ने हो भने ओली, पौडेल र पाण्डेले धार्मिक नेताको रूपधारण गरे ।
यात्राका क्रममा उनीहरूले डोटीको सिलगडीमा रहेको शैलेश्वरी माताको मन्दिर, उग्रतारा माता मन्दिर, डडेल्धुराको त्रिपुरासुन्दरी मन्दिर, बैतडीको निङालासइनी देवीको मन्दिर, गोरखाको गोरखकाली मन्दिर, नुवाकोटको भैरवी मन्दिरलगायतको दर्शन गरे । धार्मिक अभिमत तान्ने एमालेको रणनीतिका रूपमा कतिले अथ्र्याए र तर, वाम विश्लेषक डा. खगेन्द्र प्रसाइँ वैचारिक प्रतिगमन भन्छन् ।
‘धर्म अफिम भन्ने को हो ? कम्युनिस्टहरू होइनन् ? तर, कस्ता देखिए कम्युनिस्टहरू ? अझै खुल्दै जान्छ हेर्दै जानुहोला’, प्रसाइँले प्रभावसँग भने, ‘यो भनेको वैचारिक विचलन हो । वैचारिक प्रतिगमन हो ।’गत १७ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनको धार्मिक नेताको जस्तो रूप देखिएको थियो । त्यहाँ उनले हिन्दु धर्मगुरुबाट जनैसमेत लगाएका थिए । त्यहाँदेखि जलसमेत ल्याएर आए । पशुपतिनाथ मन्दिरमा उक्त जल अर्पण गरे । त्यसबेला दाहालले आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूलाई पशुपतिनाथ लगेका थिए । जबकि, दाहाल यसअघि दुईपटक प्रधानमन्त्री हुँदासमेत पशुपतिनाथ मन्दिरमा गएका थिएनन् ।
उनले सर्वोच्च कमान्डर बनेर नेतृत्व गरेको १० वर्षे सशस्त्र युद्धको क्रममा एक जना हिन्दु धर्मगुरु मारिएका थिए । केही मन्दिर भत्काइएका थिए । हिन्दु धर्मशास्त्रहरू लेखिएको संस्कृत भाषा र त्यससम्बन्धी शिक्षाको माओवादीले युद्धकाल र त्यसपछि पनि विरोध गरेको थियो ।अन्ततः संस्कृत शिक्षा विद्यालय तहमा अनिवार्य बनाइएन । जसलाई दाहाल र उनका दल माओवादीका नेता कार्यकर्ताहरू बुर्जुवा शिक्षा भन्थे । यसको विकल्पमा जनवादी र वैज्ञानिक शिक्षाको वकालत गर्थे । तर, दाहाल यतिबेला भने हिन्दु धार्मिक नेताजस्ता देखिएको राजनीतिक विश्लेषक कार्की बताउँछन् । त्यसको पछि सत्ता टिकाउने मूल स्वार्थ रहेको उनलाई लाग्छ ।
‘कम्युनिस्टहरूको जात र धर्म हुँदैन भनिन्थ्यो । यही स्कुलिङ नेपाली कम्युनिस्टहरूमा थियो तर यसविपरीत दाहाल, ओलीजीलगायत कम्युनिस्ट नेताहरू धार्मिक र जातीय नेताजस्ता देखिँदै गए’, उनले भने, ‘र, दाहालजी भारतीय संस्थापन पक्ष र नेपालको हिन्दुवादीहरूप्रति नरम देखिएर सत्ता टिकाउन धर्मभिरुजस्ता भएका हुन सक्छन् ।’प्रधानमन्त्री दाहालले गत सातामात्रै नैतिक शिक्षाको समेत खाँचो औँल्याए । उनी नेतृत्वमा सशस्त्र द्वन्द्व सुरु हुनुभन्दा अघि १०० पूर्णाङ्कको हिन्दु धर्म र सोही धर्मसँग सम्बन्धित नीतिशास्त्रमा आधारित नैतिक शिक्षा तत्कालीन निम्न माद्यमिक तहदेखि नै अनिवार्य थियो । तर, सशस्त्र युद्धकै बेला माओवादीले ठाउँठाउँमा उक्त पुस्तक जलाएपछि हटाइएको हो ।
यद्यपि, ८० हजारसम्म तलब खाने शिक्षकहरूसमेत देश छाड्दै विदेशिने क्रम अहिले चलिरहेको भन्दै प्रधानमन्त्री दाहालले नैतिक शिक्षाको खाँचो औंल्याएका छन् । त्यहाँ देश, संस्कृति र नेपाली इतिहासको माया दर्शाउने विषयवस्तु हुने र जसले देशप्रेम जगाउने उनको भनाइ थियो ।दाहालको यस्तो अभिव्यक्ति महाकालेश्वर मन्दिरमा धार्मिक नेताको भेषमा देखापरेको करिब सात महिनापछि आएको हो । यसले उनी समाजवादभन्दा पनि धर्मवादमा फसेको कतिपयको विश्लेषण छ ।
यसरी धार्मिक नेताजस्तो देखिँदै गएका कम्युनिस्ट नेताहरू ओली र दाहालमात्रै भने होइनन् । पूर्वप्रधानमन्त्रीहरूसमेत रहेका कम्युनिस्ट नेताहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि छन् । उनीहरू यसअघि नै हिन्दुधार्मिक भेषमा देखिइसकेका छन् । कम्युनिस्ट नेताहरूको यसरी विस्तारै धार्मिक रूप प्रकट हुँदै जाँदा भने पुराना कम्युनिस्ट नेताहरू असन्तुष्ट छन् । उनीहरू यसलाई विकृत वैचारिक स्खलन मान्छन् ।
तर, त्यसबेला कम्युनिस्ट नेताहरू धार्मिक रूपमा देखिए, जतिबेला संसद्मा हिन्दुराष्ट्र र राजसंस्था चाहने राप्रपा पाँचौं शक्तिको रूपमा छ । हिन्दुराष्ट्र र राजसंस्थाको माग पनि अझ ठूलो स्वरमा सुनिन थालेको छ । कांग्रेसको गण्डकी प्रदेशले धर्मनिरपेक्षता हटाउनुपर्ने माग अघि सारिसकेको छ ।यसअघि सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताबारे बहस गर्न सकिने विवरण सार्वजनिक भएको थियो । प्रधानमन्त्रीकै दल माओवादीकी उपाध्यक्ष पम्फा भुसालले पनि यसअघि बसेको पार्टी बैठकमा धर्मनिरपेक्षता हटाउनुपर्ने धारणा राखेकी थिइन् ।
यहीबेला शीर्षस्थ कम्युनिस्ट नेताहरू नै धार्मिक नेताजस्ता देखिन थालेका हुन् । यसलाई लिएर कतिपयले भने हिन्दुवादीहरूको मत प्राप्त स्वार्थसँग धार्मिक रूपमा उनीहरू प्रकट भएको अनुमान गरेका छन् ।