काठमाडौं– रोजगारीको लागि कोरिया जान ‘सिप बिल्डिङ’मा अनुत्तीर्ण भएका १८ जनाले मात्रै उत्पादनमुलक क्षेत्रमा रोजगार अनुमति प्रणाली (ईपीएस)अन्र्तगत भाषा परीक्षाको लागि आवेदन दिन पाउने भएका छन् । सिप बिल्डिङमा अनुत्तीर्ण भएकलाई पनि उत्पादनमुलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि ईपीएस कोरिया शाखाले रिट निवेदनमा नाम भएका १८ जनालाई आवेदन दिन पाउने व्यवस्था गरेको हो ।
शाखाले बिहिबार मिति उल्लेख नगरी सूचना जारी गर्दै उच्च अदालतले दिएको आदेशबमोजिम रिट निवेदनमा नाम भएका सुरज पाठकसहित १८ जनालाई ईपीएस भाषा परीक्षामा सहभागी हुन पुस १३ गते अर्थात् आज शुक्रबार बिहान १० देखि ३ बजेसम्म आवेदन बुझाउन सक्ने उल्लेख गरेको छ । यसको लागि सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेश पत्र र तोकिएको शुल्क लिएर ईपीएस शाखा कार्यालयमा उपस्थित हुनुपर्ने बताएको छ ।
सिप बिल्डिङमा अनुत्तीर्णहरुलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएपछि त्यसविरुद्ध पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरेको सूचनामा सिप बिल्डिङको परीक्षामा सहभागि भएकाहरुलाई आवेदन दिन नपाउने उल्लेख गरिएको थियो । रिटको सुनुवाई गर्दै अदालतले यही पुस ५ गते निवेदकहरूलाई आवेदन दिन रोक नलगाउन र आवेदन दिन पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो । उच्च अदालतले आदेश दिएपनि उल्लेखित १८ जनाबाहेक अन्यको हकमा आवेदन दिन नपाउने शाखाले जनाएको छ ।
अदालतले दिएको आदेश कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको भन्दै १८ जनालाई भाषा परीक्षाको लागि आवेदन दिन कार्यालयमा बोलाइएको शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए । उनका अनुसार तोकिएको समयमा १८ जनाले आवेदन दिन सक्ने भए पनि अन्यको हकमा कुनै निर्णय नभएको जानकारी दिए । ‘रिट निवेदन दिने जतिलाई अदालतले आवेदन दिन लगाउनु भनेको छ,’ उनले भने, ‘यस बाहेक अरुलाई आवेदन दिन पाउने छैनन्, शाखाले सोही अनुसार तयारी गर्दैछ ।’