नेपाली कांग्रेसले गत साउनदेखि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गरेको थियो । त्यतिबेला सभापति शेरबहादुर देउवाको यो निर्णयलाई धेरैले ‘बोल्ड’ भन्न भ्याए । हुन पनि नेपालका कुनै पनि पार्टीले आफ्नो केन्द्रीय समिति लाइभ गरेको रेकर्ड यसअघि थिएन । अझ युवा महामन्त्रीहरुको गर्जन र कार्यशैलीभन्दा एक कदम अघि सरेर देउवाले लाइभ नै गरेपछि चर्चा नहुने कुरै भएन ।
पार्टीको आन्तरिक नीतिमाथि बहस हुने बैठक लाइभ गर्न नहुने भन्दै केही केन्द्रीय सदस्यले त्यतिबेलै आवाज नउठाएका भने हैन । यद्यपि देउवाको यो रणनैतिक चाल थियो । आफूमाथि आलोचना बढ्न डरले देउवाले त्यतिबेला केन्द्रीय समिति लाइभ गरेका थिए । केन्द्रीय समिति लाइभ गरेपछि धेरैजसोले देउवाको प्रशंसा गरेरै बोल्न थाले । त्यसपछि उनी एकाएक बलिया नेताको रुपमा स्थापित भए ।
अहिलेको बैठक भने देउवाले लाइभ गर्न रोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप खेपेका केन्द्रीय सदस्य बालकृष्ण खाण बैठकमा आउने देखेर देउवाले लाइभ रोकेको बताइन्छ । यतिमात्र हैन कांग्रेसबाट सरकारमा सहभागी नेताहरुले पर्फमेन्स देखाउन सकेका छैनन् । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेसका केही मन्त्रीलाई हटाउन चाहन्छन् ।
यतिमात्र हैन टेरामक्स भ्रष्टाचार प्रकरणमा आरोपित मन्त्री मोहन बस्नेतलाई पनि प्रधानमन्त्रीले हटाउन चाहेको बुझिएको छ । ती मन्त्रीहरुले बिहीबारै सरकारमा आफ्नो कामको रिपोर्ट प्रस्तुत गर्ने तयारी थियो । तर बिहीबार नै मन्त्रिपरिषद बैठक बसेकाले रिपोर्ट प्रस्तुत भएन । रिपोर्ट प्रस्तुतिपछि उनीहरुमाथि समीक्षा हुने तयारी थियो ।
यद्यपि मन्त्रीको प्रस्तुति नै नभएपछि बिहीबारको बैठक फिका बन्यो । कांग्रेसबाट सरकारमा सहभागी डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, सीता गुरुङ, मोहन बस्नेतलगायतले प्रगतिजन्य काम खासै गर्न सकेका छैनन् । जसका कारण प्रधानमन्त्रीले उनीहरुको ठाउँमा नयाँ व्यक्तिलाई सरकारमा ल्याउन चाहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले नै मन्त्री फेर्ने लाइनमा देखिन्न । वेटिङ प्राइममिनिस्टरका रुपमा हेरिएका देउवाले अहिले नै यी मन्त्रीहरु हटाए आफ्नो पालामा अÏटेरो पर्ने जनाउँदै मन्त्रीहरुलाई थमौतीमै राख्ने योजना बनाएका छन् । यसैले यी मन्त्रीको आलोचना बाहिर नआओस् भन्ने एकमात्र सरोकार देउवाको रहेको बताइएको छ । यसैले गर्दा देउवाले विभिन्न बाहना बनाएर यसपटकको लाइभ रोकेको कांग्रेस केन्द्रीय सदस्यहरु बताउँछन् ।