जाजरकोट– गास र बासको उचित व्यवस्था नहुँदा जाजरकोटका भूकम्प पीडित समस्यामा परेका छन । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन ।
अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्प पीडित त्रिपालमा बस्न बाध्य छन । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्यो ।
मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी थिइन् । ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, कल्पनाका श्रीमान गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो ९औषधी० गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिएन ।’
स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे । ‘सुविधा सम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ’, सुनारले भने ।
चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्प पीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको निधन भएको स्वास्थ्यकर्मी बताउँछन् ।
चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताइन् । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले जानकारी दिइन् ।
चिसोले निकै सताएको बारेकोट गाउँपालिका(५ की रमिता सिंहले बताइन् । चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले जनाइन् । त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ छ ।
नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए । नगर अस्पताल दल्लीमा कार्यरत डा।विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा।अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा।प्रतीक्षा भारतीले बताइन् ।
अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा।भारतीको भनाइ छ । जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ ।
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।
औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताएका छन । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि औषधी नभएको बताइन् ।
उनका अनुसार चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । औषधी नहुँदा उपचार गर्न नसकिएको उनको भनाइ छ । स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधीसमेत दिन नसकेको शाहीले जानकारी दिइन् ।
जुनीचाँदे(६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधी अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताइन् । उनले गाउँपालिकामा औषधीको माग गरे पनि आउन नसकेको जनाइन् ।
चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन । जुनीचाँदेका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव रहेको छ । जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्यधिक चिसो हुने गर्छ ।
जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ । जुनीचाँदेका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधी खरिद नगरेको र जिल्लाले औषधी नपठाएकाले समस्या भएको बताए ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा।प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधी पठाइएको तर जुनीचाँदेले औषधी नै माग नगरेको जनाए । औषधीको मौज्दात सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उनको भनाइ छ ।