काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिकांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि यसअघि प्रदेशबाट सिफारिस मागेको थियो भने केन्द्रीय समितिले मापदण्ड तय गरेको हो । १९ सिटमा कांग्रेसले गठबन्धन गर्दा बढीमा १० सिट पाउने देखिन्छ तर ५०० भन्दा बढीको नाम उम्मेदवारका लागि सिफारिस भएर आइसकेको छ ।
कांग्रेस केन्द्रीय समितिले सरकारमा अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैलीप्रति असन्तुष्टि पोख्दा परराष्ट्रमन्त्री एनपी साउदको भने प्रशंसाय सभा सदस्य निर्वाचनमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बन्ने मौका दिने भएको छ । बिहीबारदेखि शनिबारसम्म तीन दिन चलेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
यसअघि कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठदेखि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा उम्मेदवार बन्ने आकांक्षा देखाएका थिए । कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि यसअघि प्रदेशबाट सिफारिस मागेको थियो भने केन्द्रीय समितिले मापदण्ड तय गरेको हो ।
‘प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलनसमेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु¥याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ । राष्ट्रिय सभामा २० सिट फागुन २० गतेबाट रिक्त हुँदै छ । उक्त सिटमध्ये १९ जना प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने हुन्छ । जसका लागि माघ ११ गते निर्वाचन तोकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग चुनावी तालमेल गर्ने निर्णयसमेत गरेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आबद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेदवार बनाउने,’ कांग्रेसको निर्णयमा भनिएको छ । गठबन्धन दलहरुबीच सिट बाँडफाँट नभए पनि स्थानीय निर्वाचनमा दलको उपस्थितिअनुसार दाबी प्रस्तुत गर्ने तयारी कांग्रेसको छ । यसमा कांग्रेसले कम्तीमा १० सिट दाबी गर्ने बताइएको छ ।
उम्मेदवारका लागि कांग्रेसबाटै ५०० भन्दा बढी सिफारिस
कोशी कांग्रेसले तीनजनाको नाम मागेकोमा ६३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश कार्यसमितिले झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाएको छ । दुवै नेता २०७९ मंसिरको निर्वाचनमा पराजित भएका हुन् । सिटौला झापा–३ मा राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।
कांग्रेस प्रदेशले महेश आचार्य, डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा. डिला संग्रौला र रुक्मिणी कोइरालासहितको नाम केन्द्रमा पठाएको छ ।मधेसबाट प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको छ । वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुंगाना अनुशासन समितिका संयोजकसमेत हुन् ।
समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुंगानाको नाम सूचीबाट फिर्ता गरिएको थियो । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकताक्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका मन्सुर सांसद बन्न भने सकेनन् । अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहटलगायत छन् । आठ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको मधेसका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताले जानकारी दिए ।
यता कांग्रेस बागमतीले ९१ जनाको नाम सिफारिस गरेको छ । बुधबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जनाको नाम सिफारिस गरेका हुन् ।जसमा केन्द्रीय सदस्यहरू दोलखाका जिपछिरिङ लामा, काभ्रेका गणेश लामा, धादिङका दिलमान पाख्रिन, चितवनका टेकबहादुर गुरुङ रहेका छन् । काठमाडौंकी राधा घले, हरिशरण नेपाली, भक्तपुरका गंगा अवला, मदनकृष्ण श्रेष्ठ, ललितपुरका मदन अमात्य र जितजंग बस्नेत राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि कांग्रेस बागमती प्रदेशले सिफारिस गरेको छ ।
प्रदेश पदाधिकारीबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारका लागि सिफारिस हुनेमा उपसभापति चन्द्र महर्जन, महासचिव राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल र हरिशरण श्रेष्ठ रहेका छन् । काठमाडौंका जिल्ला सभापति सबुज बानियाँ र मकवानपुरका सभापति बुद्ध लामा पनि राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि प्रदेश समितिले सिफारिस गरेको छ । राष्ट्रिय व्यक्तित्वतर्फ कलाकार नीर शाह र पत्रकार तारानाथ दाहाललाई राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
गण्डकी कांग्रेस प्रदेश कार्यसमितिको १७८ जनाको नाम सिफारिस गरेको छ । सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन् । उनीसहित गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमन्त्री रोमी गौचनको नाम पनि सूचीमा समावेश छ ।लुम्बिनी कांग्रेसले १२१ जनाको नाम राष्ट्रिय सभा उम्मेदवारका लागि सिफारिस गरेर पठाएको छ । यसरी सिफारिस हुने शीर्ष नेतामा अर्घाखाँचीबाट पुष्पा भुसाल, गुल्मीबाट चन्द्र केसी, प्युठानबाट डा. गोविन्द पोखरेल, रुपन्देहीबाट भरत शाहलगायत छन् । कांग्रेस केन्द्रीय सदस्य भुसाल २०७९ को प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट र शाह रुपन्देही निर्वाचन क्षेत्र–५ बाट उम्मेदवार थिए ।
कर्णालीबाट ९२ जनाको नाम सिफारिस भएको कर्णाली प्रदेश कार्यसमितिले जनायो । सुर्खेतबाट पूर्वपार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ भन्दा बढीको नाम सिफारिस भएको छ । यस्तै कालीकोटबाट तरुण दलका पूर्वकेन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालिबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ ।
दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्वराष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ । पुस २३ गते राष्ट्रिय सभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आगामी फागुन २० गते एमालेका नौ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट चार जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंगबहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो । सुदूरपश्चिम कांग्रेसले अझै सिफारिस नाम सार्वजनिक गरेको छैन ।
अर्थमन्त्री महतको कार्यशैलीमाथि असन्तुष्टि
मन्दीमा रहेको अर्थतन्त्रमा सुधारका लागि ठोस पहल गर्न नसकेको भनी अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैलीप्रति कांग्रेसले पनि असन्तुष्टि जनाएको छ । कांग्रेसले व्यावसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुनेगरी काम गर्न नसकेको भनी महतको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो ।
‘विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकोले वैदेशिक व्यापार घाटामा न्यूनीकरण भए पनि निर्यातमा उल्लेख्य मात्रामा वृद्धि हुन नसकेको देखिँदा व्यापारिक व्यावसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुन सकेको देखिएन,’ आइतबार सार्वजनिक निर्णयमा भनिएको छ ।
कांग्रेसले मन्त्री महतमाथि पुँजीगत खर्च हुन नसक्ने समस्यामा पनि ठोस कदम चाल्न नसकेको बताएको छ । ‘पुँजीगत खर्च हुन नसक्ने विगतको समस्या यथावत नै छ । सम्पन्न भएका आयोजनाको पनि निर्माण व्यवसायीलाई दिनु पर्ने रकम समयमा भुक्तानी नभएको अवस्थाले पनि विकास निर्माणका आयोजना कार्यान्वयनमा सुस्तता देखिएको छ,’ निर्णयमा उल्लेख छ । अर्थमन्त्री महत पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । संकटग्रस्त अवस्थामा पनि मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेको कांग्रेसको दाबी छ ।
‘विगतमा संकटग्रस्त देखिएको मुलुकको आर्थिक क्षेत्रमा विस्तारै सुधारका संकेतहरू देखिन थालेको, बैंकिङ प्रणालीमा तरलताको मात्रा बढे संगै कर्जाको व्याजदर क्रमशः घट्दै गएको, कर्जा प्रवाहमा वृद्धिसँगै घरजग्गाको कारोबारमा पनि वृद्धि भएकोले आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरू देखिन थालेको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टीबाट सरकारमा सहभागी नौ मन्त्रीले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।
परराष्ट्रमन्त्री साउदको प्रशंसा
कांग्रेस केन्द्रीय समितिले परराष्ट्रमन्त्री एनपी साउदको भने प्रशंसा गरेको छ । उनले जनतामा गौरव महसुस हुनेगरी काम गरेको कांग्रेसको निर्णयमा उल्लेख छ । उनी पनि सभापति देउवाका विश्वासपात्र हुन् । ‘यस अवधिमा नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु, नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैंमा प्रशंसानीय छ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपत्मा परेका सयौं नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ ।’
केन्द्रीय समितिको निर्णयमा स्वास्थमन्त्री मोहन बस्नेतसहित सात मन्त्रीको प्रगति विवरणबारे भने केही उल्लेख गरिएको छैन । स्वास्थ्यमन्त्री बस्नेतले पहिलो दिन बिहीबार नै आफ्नो प्रगति विवरण सुनाएका थिए भने अन्य मन्त्रीले दोस्रो दिन प्रगति विवरण सुनाएका थिए ।