काठमाडौं- सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भएक घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आयोग गठनका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्ने छ । ‘बालकुमारी गोली काण्डबारे छानबिन गर्नका लागि छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो,’ बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृह मन्त्रालयले भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले निर्णय गरी भोलि (सोमबार) दिउँसोदेखि नै आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमबारदेखि नै काम गर्ने छ । बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार सवारीसाधनमा आगजनी भएको थियो ।
गृह मन्त्रालयले सोही दिन नै उक्त घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिबारमात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।