काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरेबिया जाने कामदारको बायोमेट्रिक नगर्न÷नगराउन व्यवसायीहरुलाई आग्रह गरेको छ । नेपालस्थित साउदी राजदूतावासले विभिन्न वाहानामा दुःख दिने र एकाधिकार लागू गराउन खोजेको भन्दै उक्त समस्या हल नभएसम्म कामदारको बायोमेट्रिक नगराउ आग्रह गरेको हो ।
संघले व्यावसायिक हितका लागि उठान गरेको विषय सम्बोधन नभएसम्म साउदी दूतावासद्वारा एकोहोरो रुपमा जारी गरेको सूचनालाई आधार मानि बायोमेट्रिक गराई पासपोर्ट पेस गरे व्यवसायीमाथि कारबाही हुने चेतावनीसमेत दिइएको छ । साउदी दूतावासले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन अर्थात् जनवरी १ (आज) देखि नेपालबाट रोजगारीका लागि साउदी जाने कामदारहरुको बायोमेट्रिक गर्नुपर्ने व्यवस्था गरेको आफ्नो सूचनापाटीमार्फत जानकारी गराएपछि व्यवसायीहरु आन्दोलित भएका छन् ।
संघले एक विज्ञप्ति जारी गरी वैदेशिक रोजगारमा लागू गर्न खोजिएको एकाधिकारको विरोध गर्दै साउदी अरबको विकास निर्माणमा विगत ३० वर्षदेखि नेपाली श्रमिकले पु¥याउँदै आएको महत्वपूर्ण भूमिकाको स्मरणसमेत गराएको छ । संघसँग कुनै छलफल नै नगरी दूतावासले लिएको निर्णय कामदारलाई थप आर्थिक भार पार्ने र कालान्तरमा एकाधिकार जमाउन गरिएको सुरुआत भएको संघले ठहर गरेको छ ।
‘हामी व्यवसायीले ३० वर्षदेखि सहज ढंगले कामदार पठाइरहेको अवस्थामा काठमाडौंस्थित दूतावासको कन्सुलेट अफिसले विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने, सीमित कम्पनीलाई मात्र आइडी कार्ड प्रदान गर्ने, बेलाबेला आइडी कार्ड बन्द गरिदिने र सीमित संख्यामामात्रै भिसा पेस गर्न दिनेजस्ता कार्य गर्दा साउदी अरबमा कामदार सहज ढंग र छिटो जान सकिरहेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ । समस्या समाधानको लागि दूतावाससँग पटक–पटक छलफल गर्दा निकास नदिने र संघसँग समन्वयसमेत नगरेकोप्रति संघ गम्भीर रहेको पनि उल्लेख गरिएको छ ।
कामदारसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आवश्यक परामर्श र स्वीतिविना खडा हुने भिसा सेन्टरलगायतका संस्थाहरुलाई मान्यता नदिने संघले प्रस्ट पारेको छ । यस विषयमा गृह मन्त्रालय, पराराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराइएको जनाउँदै कुनै एक संस्थामार्फत एकाधिकार लागु गर्न खोजिए संघले कडा प्रतिवाद गर्ने जनाएको छ ।
गत वैशाख २९ गते बायोमेट्रिक प्रणाली फेमिलि भिसा र भिजिट भिसामा जाने नेपालीलाई मात्रै लागू हुने जानकारी दिएको साउदी दूतावासले हाल आएर श्रम मन्त्रालयसँग कुनै छलफल नगरी अनुमतिविना नै एकपक्षीय रूपमा बायोमेट्रिक लागू गर्न खोजेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । कामदारलाई अधिक आर्थिक भार पार्ने गरी नेपाल सरकारको अनुमतिविना सञ्चालनमा ल्याउन लागिएको बायोमेट्रिक प्रणाली हटाउने पहल गरिदिन श्रम मन्त्री शरतसिंह भण्डारी र परराष्ट्र मन्त्रालयका विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुलाई छुट्टा–छुट्टै भेटेर आग्रह गरिएको उनले जानकारी दिए ।
साउदी दूतावासले गरेको एकपक्षीय तयारीबारे श्रम मन्त्रालयले पत्राचार गरी जानकारी माग गरिएको बताइएको महासचिव भुर्तेलले जानकारी दिए । तसर्थ उल्लिखित समस्याको हल नभएसम्म कामदारको बायोमेट्रिक नगराउन संघले व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।