धरान – मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे । खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा दयानन्दले गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।
अब मनाङले फाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । यस अघि उपाधि दाबेदार मनाङले क्वाटरफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । भारतीय टोलीले भने आयोजक धरान फुटबल क्लबलाई हराएको थियो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रूपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् । यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।