काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले मंसिर महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । दूतावासले २०८० मंसिर महिनामा सम्पादन भएका प्रमुख सेवाहरुको तथ्यांकीय विवरण सार्वजनिक गरेको हो ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्यहरुमध्ये एक युएईमा रहेको दूतावासले आफुले गरेका प्रमुख कार्यसम्पदानहरुको विवरण महिनैपिच्छे सार्वजनिक गर्दै आइरहेको छ । दूतावासले नेपालीहरुको समस्या समाधान तथा सहजीकरणमा गरेको कार्य सम्पादन तथा प्रगति विवरणमा मंसिरमा तीन हजार ६७० पासपोर्ट नवीकरणका लागि संकलन भएको उल्लेख गरिएको छ भने दुई हजार ९४८ वटा पासपोर्ट नवीकरणपश्चात् वितरण गरिएको जनाएको छ ।
त्यस्तै ९२ जनालाई भिसा प्रदान गरिएको छ भने १३० जनाको ट्राभल डकुमेन्ट बनाइएको विवरणमा उल्लेख छ । यसैगरी १२८ जनाको कागजात प्रामाणिकरण गरिएको छ । साथै, रोजगारीका लागि संस्थागतरुपमा आएका १९४ वटा मागपत्र प्रमाणीकरण भएको दूतावासले जनाएको छ ।
यस्तै १४४ वटा समूहगत भिसा प्रमाणीकरण गरेको दूतावासले मंसिर महिनामा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको १३ वटा शव व्यवस्थापन भएको उल्लेख गरेको छ । यस्तै विभिन्न माध्यमबाट आएका ५४६ वटा गुनासा तथा उजुरीहरुको सम्बोधन गर्दै मंसिरमा श्रमिकहरुलाई क्षतिपुर्ति र इन्स्योरेन्सबापत ५१ हजार तीन एइडी अर्थात् झण्डै १८ लाख ५२ हजार रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ ।