राजनीतिक दलका शीर्ष नेताको कार्यशैलीका कारण जनता असन्तुष्ट छन् । अवसर आसेपासेलाई, सुविधा आफन्तलाई, पद सके आफैंलाई नसके भाइ भारदार हुन्छ वा आफन्तलाई । यसै कारण जनता रुष्ट छन् । बेलाबेला यो असन्तुष्टि सडकमा पोखिन्छ । तर शीर्ष दलका नेताले आफूमाथि आएको आलोचनालाई ठीक फरक तरिकाले सम्बोधन गर्छन् ।
सोमबार प्रधानमन्त्री भइसकेको पाँच–पाँच जना एकै स्थानमा उभिएर कार्यशैलीभन्दा पनि आफूहरुको एकता व्यवस्था जोगाउन भएको भन्दै जुँगामा ताउ लगाउन भ्याए । पञ्चनेताहरुले देश ठीकठाक पार्न आफूहरुको भेटघाट भइरहने दाबी गरे । उनीहरुको भेट के व्यवस्था जोगाउनका लागि नै होला त ? अहिले राजनीतिक नियुक्तिदेखि निर्वाचनमा उम्मेदवार बनाउन आफ्ना मान्छेबाहेक अरुले मौका पाउन मुश्किल छ ।
देशको जनशक्ति बहिरिएसँगै सरकारलाई चौतर्फी घाटा हुन्छ । खर्च गर्ने उमेरका धेरैजसो युवाहरु विदेशिँदा देशको क्रयशक्ति कम हुन्छ । जसका कारण देशको आर्थिक घाटा गहिरिँदै जान्छ । सत्ताधारीहरु भने आफूले पनि खर्च पाउने, देशको ऋण तिर्न पनि हुने भन्दै युवालाई विदेशमै श्रम गर्न बाध्य पार्न उद्धत देखिन्छ । गएको चुनावमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो क्षेत्र पुगेर निःशुल्क विदेश पठाउने घोषणा गरेका थिए । उनीमात्र हैन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुले पनि आफूलाई मत हाल्नेलाई वैदेशिक रोजगारमा पठाइदिने चुनावी चिट्ठा फुकाएका थिए ।
देशमा रोजगारीको वातावरण हुँदाहुँदै दलाली गर्दा कमिसन पाइने लोभमा नेताहरुले युवालाई जसरी पनि विदेश जान लालयित बनाउँछ नै । चुनाव खर्च जोहो गर्न नेताहरुले कन्सल्टेन्सीदेखि म्यानपावरसम्म श्रमिकलाई पु¥याउने गर्छन् । यसरी नै युवाहरु विदेश गइरहेका छन् । देशमा भ्रष्टाचारको ग्राफ उकालो लागेको छ । अनियमितताको कुरा साध्य छैन, घुस खुलेआम चल्न थालेको छ । घूस नखुवाई काम हुन्न भन्ने भाष्य स्थापित भइसकेको अवस्थामा शीर्ष दलका नेताहरु एकै ठाउँ उभिएर व्यवस्था जोगाउन एक हुने प्रतिबद्धता जनाएका हुन् ।
यसरी एक हुनेमा सत्ताधारीदेखि प्रतिपक्षीसम्म छन् । हुन त जुनसुकै घोटालामा मिलेर ढाकछोप गर्न सिपालु शीर्ष नेताहरुको के कुरा गर्नु र ? लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्छ । तर जहाँनिया शासनको अन्त्य गरेर नेताहरुको जहाँनिया शासन ल्याउनु निकै डरलाग्दो विषय हो । यस्तो विषयमा दलका नेताहरुले शीघ्र आत्मसमीक्षा गर्न जरुरी छ । आत्मसमीक्षासँगै अवस्था सुधार्नु जरुरी छ । नभए दलको एकता र मेलमिलापको कुरालाई जनताले गफको रुपमै सोच्ने छ ।