काठमाडौं – एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टिम बिहीबार (आज) थाइल्यान्ड जान लागेको छ । प्रतियोगिताका लागि बिहिबार थाइल्याण्ड जाने नेपाली टोलीलाई बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले विदाई गरेको हो ।
प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको १४ सदस्सीय नेपाली टोलीलाई राखेप सदस्य सचिव रमेश सिलवाल, क्यानका सचिव अशोक नाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंहले विदाई गरे । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो । प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले समेत १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् । प्रतियोगिताका लागि नेपाली अम्पायर संजय गुरुङ पनि थाइल्याण्ड जाने छन् ।