हुम्ला– हुम्लाका कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।
जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् । सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् ।
यही पुस १० गते परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको सङ्ख्या निकै बढी देखिएको छ ।
अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको छ । गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनले गुनासो गरे ।
हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेकोमा एक वर्षयता सबै काम ठप्प छ । गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् ।
कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरूमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए ।