- हरिप्रसाद अर्याल, भरतबहादुर शाह, राजकुमार गिरी, प्रितम कार्की, गंगाराज मोक्तान, राजकुमार कार्की, रूपक कार्की, देवान राई, सन्दीप थपलिया र कुन्दनसिंह नागल मारिए
- १०० जना सम्पर्कविहीन: परराष्ट्रमन्त्री साउद
- युक्रेनी सेनाको हिरासतमा चार जना
- रुस–युक्रेनको सेनामा भर्ती हुन नजान सरकारको आग्रह
- युवाहरू भने भिजिट भिसामा दुबई गएर रुस–युक्रेनको सेनामा भर्ती हुन जाँदै
‘बिन्ती छ, रुस नआइदिनुहोला’
नोभेम्बर ५ तारिखमा साइन गरेर युद्धमा होमिएको थिएँ । त्यसै क्रममा म पक्राउ परेर हाल युक्रेनी सेनाको हिरासतमा छु । मेरो मेसेज सम्पूर्ण नेपाली दाजुभाइहरूलाई छ कि, रसिया आउँदै हुनुहुन्छ वा आउनुभएको छ भने तपाईंले पुनः विचार गर्नुपर्ने हुन्छ । यो एकदमै खतरनाक छ । एकदमै सोचेभन्दा भिन्न छ । हामीले सोचेको जस्तो सामान्य खालको लडाइँ छैन । हामी गोर्खे भन्ने सोच राखेर कदापि नआउनुहोला । एकदमै गाह्रो छ । निकै भयानक छ । सबैलाई विन्ती गर्छु नेपाली दाजुभाइहरू, तपाईंहरू नआइदिनुहोला ।
विकास राई
लेटाङ–३, मोरङ
‘नेपालीहरूलाई अति नै गाह्रो छ’
रसियामा आएको दुई महिना पूरा भयो । रसिया आएर मैले धेरै दुःख पाएँ । मैले पैसाका लागि रसियन फौजमा जोइन गरेँ । तर, नेपालीहरूलाई अति नै गाह्रो छ । सुरुमा त भाषाको समस्या हुन्छ । त्यसपछि कमाण्डरहरूले पनि हामीलाई राम्रो व्यवहार गर्दैन । सुरुसुरुमा त नेपाली हो, राम्रो भनेर राम्रो गर्न खोज्छन् तर अन्तिममा हाम्रो लागि राम्रो गर्दैनन् । पछि धेरै हेप्न थाल्छन् । जोजो नेपालमा हुनुहुुन्छ र रसियामा आउन खोज्दै हुनुहुन्छ, कोही पनि रसियामा नआउनुहोस् ।
सिद्धार्थ ढकाल
मण्डनदेउपुर–६, काभ्रे
काठमाडौं– रुसी सेनामा कार्यरत थप तीन जना नेपाली मारिएका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार थप तीन जना मारिएको पुष्टि गरेको हो । यससँगै त्यहाँ मारिने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक मारिनेहरूमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी छन् । उनीहरू जारी रुस–युक्रेन युद्धमा मारिएका हुन् ।
यही पुस ४ गतेसम्म मृत्यु हुने नेपालीको संख्या सात पुगेको थियो । स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दनसिंह नागल मारिएका थिए ।
परराष्ट्र मन्त्रालयले गत १८ मंसिर र त्यसअघि १६ साउनमा सूचना जारी गर्दै रुसी र युक्रेनी सेनामा भर्ती नहुन नेपाली युवायुवतीलाई आग्रह गरेको थियो । त्यहाँ भनिएको थियो, ‘...केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामाबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनः स्पष्ट गरिन्छ ।’
मन्त्रालयले सचेत गराउँदागराउँदै पनि रुसी र युक्रेनी सेनामा नेपाली युवायुवतीको भर्ती नरोकिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं चिन्तित छन् । उनले तीन साताअघि पार्टी केन्द्रीय कार्यालय पेरिसँडामा पत्रकार सम्मेलन गर्दै २०० भन्दा बढी नेपाली युवायुवती रुसी सेनामा भर्ती भएको बताएका थिए । उनीहरू भिजिट भिसा, अध्ययन भिसालगायतमार्फत दुबई हुँदै रुस पुगेको जानकारी आएको प्रधानमन्त्रीको भनाइ थियो । उनीहरूको खोजीमा सरकार रहेको बताए थिए ।
‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ । कति छन् भन्ने भन्न सकिएन तर दुई बढी त्यहाँ (रुस) पुगेको जानकारी आएको छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए । उनका अनुसार रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताएका थिए ।
पुस ४ गते परराष्ट्र मन्त्रालयले बर्दियाका राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्तिगढी –८ का प्रतीक पुन भने बन्दीमा रहेको जनाएको थियो । उनीहरू युक्रेनी सेनाबाट बन्दीमा परेका हुन् ।
उनीहरूको रिहाइका लागि इन्टरनेसनल कमिटी फर रेडक्रसजस्ता कूटनीतिक निकायको माध्यमबाट पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, हालसम्म बन्दी भएका कोही पनि नेपाली नागरिक रिहा भएका छैनन् । मृतक कसैको शव नेपाल ल्याइएको छैन । मृतकहरूको परिवारले क्षतिपूर्तिसमेत पाएका छैनन् ।
नेपाली नागरिकलाई सेनामा भर्ती नगर्न र नगराउन सरकारले युद्धरत देशहरू रुस–युक्रेनलाई परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी)ले आग्रह गरेको बताएका छन् ।
दुई साताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न नपाउने स्पष्ट पारेका थिए । कार्यालयले विदेशी नागरिक रुसी सेनामा भर्ती भए÷नभएकोबारे अनविज्ञता प्रकट गरेको थियो । तर, नेपाली युवाहरूलाई रुसले आफ्नो देशको सेनामा खुरुखुर भर्ना गर्दै आएको छ ।
केही दिनअघिमात्रै सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र विभिन्न पेसा व्यवसायमा संलग्न भएकाबाहेकलाई रुस जानुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लाई अनिवार्य बनाएको थियो ।
परराष्ट्रमन्त्री साउदका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये १०० जना नेपाली सम्पर्कविहीन रहेका छन् । त्यसमध्येमै मारिएको भन्दै पछिल्लोपटक सार्वजनिक तीन जना पनि हुन सक्ने ठानिएको छ ।
र, सरकारले युक्रेनी सेनाले बन्दी बनाएका रुसी सेनामा कार्यरत नेपालीहरूलाई रिहा गराउन कूटनीतिक पहलकदमी गरिररहेको दाबी गर्दै आएको छ । यद्यपि, कोही पनि बन्दी नेपालीको रिहा गर्न सरकारले सकेको छैन ।
मस्कोस्थित नेपाली राजदूतावासलाई आवश्यक समन्वय र पहल गर्न निर्देशन दिएको मन्त्री राउतले गत सोमबार बताएका थिए ।
उनका अनुसार दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको छ । थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइने बताए ।
रुस–युद्ध भएको भने डेढ वर्ष नाघेको छ । यसबीचमा दुवै देशतर्फ हजारौँ सैनिक तथा गैरसैनिकले ज्यान गुमाएका छन् । कयौँ घाइते छन् । रुसले भाडाको सेनाको रूपमा विदेशी नागरिकलाई भर्ती गराएर लडाइँमा पठाउने गरेको विवरणहरू आएका छन् ।