काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दल भागबण्डाको अन्तिम चरणमा पुगेका छन् । माघ ११ गतेलाई तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले पुस २३ गतेभित्र उम्मेदवारी दर्ता गर्न समय तोकेको छ ।
छ वर्ष अवधिका लागि निर्वाचित २० जना राष्ट्रिय सभा सदस्यहरु यही फागुन २० गतेबाट बिदाइ हुँदै छन् । यही रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । २० मध्ये १९ पदमा निर्वाचन हुँदै छ भने एक मनोनीत ।
अध्यक्षसहित भागबण्डा
सत्तारुढ दलमा रहेका सबै दलले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसकेका छन् । सत्तारुढ दल मिल्दा यसपटक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक सिट जित्न पनि मुश्किल हुने देखिन्छ । एमालेका नौ सदस्य यसपटक राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । यसैगरी कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका तीन, जनता समाजवादी पार्टीका एक सदस्य राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।
सत्तारुढ दलले पुरानो सिट कायमै राखेर एमालेको नौ सिटमा भागबण्डा गर्ने जनाएको छ । यो भागबण्डा पनि स्थानीय मतभारको आधारमा न्यायोचित किसिमले हुने कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै अध्यक्ष पद पनि रिक्त हुँदै छ । अध्यक्ष पद कांग्रेसले पाउनेगरी भागबण्डा सहमति नजिक पुगिसकेको कांग्रेस नेताहरु बताउँछन् ।
नेताहरुका अनुसार एमालेले लगभग गुमाउने भएको नौ सिटबाट कांग्रेसले पाँच सिट, माओवादीले तीन, जनमतलाई एक सिट दिने गरी सहमतिको खाका तय भएको छ । यसैगरी एकीकृत समाजवादीबाट निर्वाचन जितेका खिमलाल देवकोटाको सिटमा नागरिक उन्मुक्तिलाई एक सिट मिलाउने बताइएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी गरी १२ दल दर्ता छन् ।
कहाँ कुन पार्टीबाट हुँदै छ खाली ?
एमालेका नौ जनामा बागमतीबाट दिलकुमारी रावल थापा (पार्वती), रामचन्द्र राई, लुम्बिनीबाट कुमार दसौंदी, गण्डकीबाट गणेशप्रसाद तिमिल्सिना र दीपा गुरुङ, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, सुदूरपश्चिमबाट इन्दु कडरिया र मनोनीत विमला राई पौड्याल बिदा हुँदै छन् ।
कांग्रेसका चार जनामा कोशीबाट रमेशजंग रायमाझी, मधेसबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ र लुम्बिनीबाट अनिता देवकोटा फागुन २० गते बिदा हुँदैछन् ।
माओवादी केन्द्रका तीन जनामा कोशीबाट बिना पोखरेल, सुदूरपश्चिम माओवादी महेशकुमार महरा र हरिराम चौधरी बिदा हुँदैछन् । यता मधेसबाट जसपाकी प्रमिला कुमारी एकीकृत समाजवादीका तीन जनामा बागमतीबाट सिंगबहादुर विश्वकर्मा, कर्णालीबाट नन्दा चपाई र बागमतीकै स्वतन्त्र खिमलाल देवकोटा बिदा हुँदै छन् ।
कांग्रेसलाई एमालेको आकर्षक प्रस्ताव
नेकपा हुँदाताका सुरुमा ३० सिटसहित पहिलो पार्टी थियो राष्ट्रिय सभामा । पार्टी फुटेर तीन टुक्रा भएपछि एमालेको शक्ति पनि राष्ट्रिय सभामा ओरालो लाग्दो छ । २०७८ भदौमा नेकपा विभाजनबाट सात र चुनावबाट सात गरी १४ सांसद गुमाएर १८ सिटमा खुम्चँदा पनि एमाले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल थियो । २०७८ माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले गठबन्धनसँगको प्रतिस्पर्धामा आफ्नो आठमध्ये सात सिट गुमाएको थियो । माघ ११ को निर्वाचनबाट नौ सिट गुमाए एमाले नौ जनामात्र सदस्यमा सीमित हुने देखिन्छ ।
यसैले पनि आफ्नो सिट जोगाउन एमालेले कांग्रेसलाई ११ र अध्यक्ष दिनेगरी गठबन्धनको प्रस्ताव गरेको कांग्रेस नेताहरु बताउँछन् । अहिले कांग्रेस राष्ट्रिय सभामा १० सिटसहित तेस्रो दल हो । माओवादी १४ सिटसहित दोस्रो पोजिसनमा रहेको छ । तीन सदस्य बिदा हुँदै गर्दा छ सिट पाएर सबै निर्वाचित भए माओवादी १७ सिट हुनेछ । यता नेपाली कांग्रेसले नौ सिट पाएर सबै निर्वाचित भए १५ सिटमै सीमित हुने छ । एकीकृत समाजवादी आठ सिटमै सीमित रहने छ । एमालेको प्रस्ताव मानेर ११ सिट नै जितेमा भने कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बन्ने छ । कांग्रेस प्रतिनिधिसभामा पहिलो पार्टी हो ।