- भारतीय विदेशमन्त्री नेपाल एस जयशंकर आउनुपूर्व राजसंस्थाको मुद्दामा तरंगित बनाउन पूर्वराजाले नेताहरुलाई छलफलका लागि डाकेको बताइएको छ
- तीन दिनअघिमात्र शीर्ष तीन दलका तीन नेताले राजतन्त्रबारेको बहस बेकार भएको बताएका थिए
- भैरहवामा पूर्वराजा ज्ञानेन्द्रसँग राजसंस्था र हिन्दू अधिराज्य पुनःस्थापनाका विषयमा गहन विमर्श भएको राप्रपा नेताहरुले बताएका छन्
काठमाडौं– केही समयअघि कोशीमा अभिनन्दन लिन उत्रेका पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज लुम्बिनीमा छन् । मंगलबारमात्र नवलपरासीको बर्दघाट कालिका मन्दिरमा अभिनन्दन लिएका शाहले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुलाई भैरहवा डाकेर छलफल गरेका छन् । भारतीय विदेशमन्त्री नेपाल एस जयशंकर आउनुपूर्व राजसंस्थाको मुद्दामा तरंगित बनाउन पूर्वराजाले नेताहरुलाई छलफलका लागि डाकेको बताइएको छ ।
भैरहवाको सिद्धार्थ भिलासा होटलमा अड्डा जमााएर बसिरहेको शाहले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पाँच नेतासँग बुधबार दुई घण्टा छलफलसमेत गरे । पूर्वराजा शाहले भेटमा देशको आर्थिक संकटबारे चिन्तासमेत जनाएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।
‘आर्थिक मन्दीको बारेमा चासो राख्नुभयो । रिपोर्ट सुध्रियो भन्छन् तर मैले यस्तो देखेको छैन भन्नुभयो,’ उपाध्यक्ष तामाङले भने । नेपालमा रोजगारी नपाउँदा नेपाल वृद्धहरुको देश बन्न लागेकोमा पनि शाहले चिन्ता जनाएको उनको भनाइ थियो । ‘नेपाल वृद्धहरुको देश बन्ने भयो । यसरी देश कसरी बन्ला ? क्रिमक्रिमले युवाले देश छाड्ने भो । बालबच्चा र वृद्धहरुको देश हुने भयो भनेर चिन्ता जनाउनुभयो,’ उपाध्यक्ष तामाङले भने ।
शीर्ष दलका शीर्ष नेतालाई काउन्टर
पुस १६ गते प्रज्ञा भवनमा नेपाली कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसमा शीर्ष दलका नेताले राजतन्त्र फर्कनै नसक्ने विषय भएको बताएका थिए । त्यसको दुई दिन नबित्दै पूर्वराजाले राजसंस्थाबारे छलफल गर्न राप्रपाका नेताहरुलाई भैरहवामा डाकेको बुझिएको छ ।
राजसंस्थाबारे छलफलका लागि राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष तामाङ, र केन्द्रीय सदस्य दीपकबहादुर सिंहलाई भैरहवा डाकेका हुन् । नेताहरु बुधबार नै काठमाडौं फर्किसकेका छन् । महामन्त्री धवलशमशेर राणा भने पूर्वराजालाई अभिनन्दनका लागि व्यवस्थापनमा खटिएका छन् ।
राप्रपाको पुस ३ गते सम्पन्न केन्द्रीय समिति बैठकले संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको माग गर्दै बृहत् आन्दोलन गर्ने निर्णय गरेको थियो । आन्दोलनको तयारीका लागि पुस र माघमा देशैभर व्यापक सभा गर्ने तथा फागुनमा मेची–महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको पृष्ठभूमिमा ज्ञानेन्द्रले राप्रपाका नेताहरुलाई सामूहिकरुपमा भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
सोमबार एमाले अध्यक्ष ओलीले राजतन्त्रको बहस बेकारको बताएका थिए । ‘राजतन्त्रको भविष्य छैन । हुन त दरबार हत्याकाण्डमै सकिएको हो । तर, हामी चुक्दा केही समय डमी राजतन्त्र चल्यो । पछि ढल्यो,’ ओलीले भनेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रलाई थप मजबुत बनाउन आत्मसमीक्षाको खाँचो रहेको बताएका थिए । ‘लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म आएको छैन । सुदृढ लोकतन्त्रबाहेकको अर्को सिस्टम विकास भएकै छैन,’ दाहालको भनाइ थियो, ‘तर शासन सञ्चालनमा हामीबाट कमजोरी भएको छ । कहाँ हामी चुकेका छौं । हामी सबैले आत्मसमीक्षा गर्नैपर्दछ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नै नरहेको बताएका थिए । ‘गणतन्त्रको विकल्प गणतन्त्रबाहेक अरू केही हुन सक्दैन । राष्ट्रका महत्वपूर्ण बुँदामा केन्द्रित भएर दलहरूबीच छलफल गर्दै एक भएर जाऔं,’ देउवाले भनेक थिए ।
राप्रपाका उपाध्यक्ष तामाङले ज्ञानेन्द्रसँग राजसंस्था र हिन्दू अधिराज्य पुनःस्थापनाका विषयमा गहन विमर्श भएको बताए । ‘राजसंस्था र हिन्दू राज्यको बारेमा हाम्रो मुद्दा नै हो । यसबारेमा लामो कुराकानी भयो,’ उनले भने । भेटमा पूर्वराजाले सात दलसँग भएको सहमतिको बारेमा पनि कुराकानी गरेका थिए । भैरहवाको सिद्धार्थ होटलमा साढे ११ बजेबाट सुरु भएको छलफल दिउँसो २ बजेसम्म चलेको थियो । राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजालाई जानकारी गराइएको राप्रपा महामन्त्री राणाले बताए ।
‘सबै राजावादी र राष्ट्रवादीलाई एक ठाउँमा ल्याएर हामी अघि बढ्छौं भन्ने कुरा उहाँलाई जानकारी गराइएको छ,’ महामन्त्री राणाले भने । शाहलाई आज भैरहवाको सुगर मिल क्षेत्रमा साढे १२ बजे अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।