काठमाडौं– साउदी अरेबियामा संंगठित गिरोहको ठगी बढ्दै गइरहेको भन्दै यसबाट सचेत रहन र सावधानी अपनाउन त्यहाँस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । साउदीमा हालसालै ठगीका घटनाहरू बढिरहेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेका भन्ने जानकारीमा आएको भन्दै दूतावासले सावधानी अपनाउन आग्रह गरेको हो ।
दूतावासले बुधबार एक सूचना जारी गर्दै साउदी अरेबियाको आन्तरिक मन्त्रालयको हवाला दिँदै ठगी गर्ने गिरोहका सदस्यले आफू कर्मचारी भएको जनाउँदै फोन गर्ने र जनगणनाको सिलसिलामा आएकोमा बासस्थानमा भेट हुन नसकेको भन्दै विवरण माग गर्ने गरेको पाइएको उल्लेख गरेको छ । साउदी कानुनअनुसार फोनबाट नै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुपर्छ भनी रोजगारीमा रहेका नेपालीहरुसँग कुरा सुरु गर्ने, अकामा (बसोवास अनुमति) नम्बर माग्ने, एसएमएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएको जस्तै बनाई फोनमा ओटिपी पठाउने र उक्त ओटिपी माग्ने गरेको पनि दूतावासले जनाएको छ ।
सबै विवरण अद्यावधिक गर्नुपर्ने जनाउँदै गिरोहले आव्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर र सँगसँगै ओटिपी नम्बरसमेत मागी सम्बन्धित व्यक्तिको खातामा भएको रकम लैजाने तथा आव्सर हात पारी अनेक खालका अवैध कारोबार गरी फसाउने गरेको घटनाप्रति सचेत हुन साउदीमा रहेका सबै नेपालीलाई दूतावासले सूचित गरेको छ ।
यस्ता ठगीको थुप्रै घटना घटेको भन्दै साउदीको आन्तरिक मन्त्रालयले कारबाहीसमेत गरिरहेको तथा बेलाबेलामा एसएमएस मार्फत सूचना जारी गरी सचेत गराइरहेको भन्दै दूतावासले कुनै अनाधिकृत व्यक्तिले फोनबाट वा अरु कुनै माध्यमबाट व्यक्तिगत विवरण माग गरेमा नदिन र स्थानीय प्रहरीमा जानकारी गराउन पनि दूतावासले अनुरोध गरेको छ ।
टाट पल्टिएको कम्पनीले तलब लिन बोलायो
साउदीस्थित एक कम्पनीले टाट पल्टिएको पाँच वर्षपछि त्यहाँ काम गर्ने नेपालीहरुलाई तलब सुविधा बुझिलिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनीले टाट पल्टिएपछि पारिश्रमिकविनै नेपाल फर्काइएका ५७१ जना नेपालीको नामावलीसहित रियादस्थित नेपाली दूतावासमार्फत कामदारहरुलाई बाँकी रहेको तलब सुविधा बुझिलिन आउन अनुरोध गरेको हो ।
दूतावासले एक सूचना जारी गर्दै उक्त कम्पनीमा काम गरेबापत पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई भुक्तानी सहजीकरण गराइदिन अनुरोध प्राप्त भएको उल्लेख गरेको छ । सोहीअनुरुप कम्पनीको सूचीमा नामावली भएका कामदारले दूतावासले प्रकाशित गरेको लिंक प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन पनि आग्रह गरेको छ