काठमाडौं (प्रस)– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा लाखौं रकम ठगी गरेको अभियोगमा चारजना पक्राउ परेका छन् । रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२४ बांगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् । बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानियामा फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा असनबाट पक्राउ गरिएको बताइएको छ ।
यसैगरी युवाहरुलाई वैदेशिक रोजगारीमा स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा धादिङका २५ वर्षीया जयराज शाही र गोरखाकी ३५ वर्षीया छिमी सुनिनलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले पीडितलाई मासिक ७० हजारभन्दा बढी तलब हुनेगरी एक फ्याक्ट्रीमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ ।
यस्तै कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पनि पक्राउ गरेको छ । गिरीले पीडितलाई मासिक ८० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारी कतारमा ड्राइभिङमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।