सियोल–लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब पाँच करोड १० लाख जनसङ्ख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९)मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीले बताएका छन् ।
कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्ति छन् तर जन्मदर भने सबैभन्दा न्यून छ । यी दुई पृथक सूचकका कारण कोरियाली जनसाङ्ख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ । कोरियाली तथ्याङ्क ब्यूरोले सन् २०१९ मा कूल तीन लाख तीन हजार १०० बालबच्चा जन्मिएको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो ।
मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ । प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाको कूल सङ्ख्या हो । यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसङ्ख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो । परम्परागत सामाजिक मूल्यमान्यता, महिलामाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ । सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता एक खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसङ्ख्या तीन करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ । सन् २०६७ मा कोरियालीको मध्यम आयू बढेर ६२ वर्ष पुग्नेछ । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०६:४३