काठमाडौं– मोडलिङ तथा कलाकारितामा संघर्षरत नायिका हुन् श्रेया दुलाल । पछिल्लो समय श्रेया फिल्ममा समेत व्यस्त हुन थालेकी छन् ।
पछिल्लो समय युवायुवतीहरू मोडलिङ र अभिनयलाई पेशा बनाउन लालायित भइरहेको बेला श्रेयाले पनि आफ्नो सोख पूरा गर्दै आएको बताएकी छन् । फिल्म तथा मोडलिङ क्षेत्र युवा पुस्ताको आकर्षक थलो पनि हो । त्यस्तै, ग्ल्यामरस क्षेत्रप्रति आकर्षित हुँदै मोडलिङ क्षेत्रमा आफुलाई स्थापित गराउन फिल्म जगतमा लागेको उनी बताउँछिन् ।
मोडल तथा अभिनेत्री श्रेया यो क्षेत्रमा लागेको करिब एक दशक पुग्नै लाग्यो । यस अवधिमा चार दर्जनभन्दा बढी म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरिसकेकी छन् । फिल्म क्षेत्रमै भविष्य बनाउने योजनाका साथमा अगाडि बढदै गरेकी श्रेयाले सिसा, धुन, युज्टू, नाई मलाई थाहा छैन, आदिम मानव, सरदका पातहरूलगायतका चलचित्रमा अभिनय गरेकी छन् । तर, ती चलचित्रहरूमध्ये अधिकांश रिलिज भएको छै्रन । जसका कारण पनि उनको कामको चर्चा हुन सकेको छै्रन ।
‘आँखमे चोली’ भोजपुरी र ‘मधुमाला’ जस्ता बंगाली चलचित्रमा समेत उनले अभिनय गरेकी छन् । उनले म्युजिक भिडियो र चलचित्रसम्बन्धि बिभिन्न अवार्ड र सम्मान समेत हात पार्न सफल भएकी छन् ।
अभिनय र नृत्यमा पोख्त श्रेयामा एक नायिकामा हुनुपर्ने गुण सबै पाइन्छ । थोरै तर राम्रो चलचित्रमा काम गर्ने आफ्नो चाहना रहेको उनी बताउँछिन् । परिवारसहित ललितपुर गोटिखेलमा बस्दै आएकी श्रेया भन्छिन्, ‘फिल्मी क्षेत्रमै जम्ने मेरो उद्देश्य हो ।’ हँसिली र शालीन स्वभावकी उनी पछिल्लो समय फिल्मकर्मीको रोजाईमा पर्न थालेकी छन् ।
सानैदेखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने राख्दै आएकी उनी भन्छिन्, ‘सकेसम्म अभिनयमा आफुलाई अब्बल बनाउन प्रयारत छु ।’ स्टेज कार्यक्रमहरूमा समेत सहभागिता जनाउँदै आएकी उनी नर्थपोल एकेडेमीमा एक दशकदेखि अभिनय र नृत्य प्रशिक्षकको रूपमा कार्यरत छिन् । उनी भन्छिन्, ‘अब कलाकारिताको क्षेत्रमा क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु ।’