काठमाडौं– सत्ता गठबन्धनले आइतबार बिहान १९ सिटमा भागबण्डा लगाएसँगै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । जसपाले मधेस प्रदेशबाट एक सिट पाएकोमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यता माओवादी केन्द्रले गठबन्धनबाट छ सिट पक्का गरेको थियो । माओवादीले कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
सत्तामा सहभागी सिके राउतको जनमत पार्टी र रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले राष्ट्रिय सभामा कुनै सिट पाएनन् । नागरिक उन्मुक्तिले सुदूरपश्चिममा एक सिट दाबी गरेको थियो भने जनमतले मधेस प्रदेशमा । यता जनमोर्चालाई भने राष्ट्रपतिबाट मनोनीत हुने एक सिट दिने वचन दिइएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीतमा ल्याउने भनिए पनि उक्त पार्टीका सचिव यमलाल पुरीले यसबारे जानकारी नभएको बताए । ‘यसबारे हामीलाई कुनै जानकारी छैन,’ पुरीले भने । कांग्रेसले गठबन्धनबाट १० सिट र एकीकृत समाजवादीले दुई सिट पाएको छ ।
यी हुन् एमालेका १९ उम्मेदवार
नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि १९ उम्मेदवार छानेको छ । सत्ता गठबन्धनले आफ्ना लागि भाग नछुट्याएपछि एमालेले रिक्त सबै सिटमा उम्मेदवारी दिनेगरी नाम टुंगो लगाएको हो ।पार्टी महासचिव शंकर पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमालेले कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी कोइराला र भोजपुरका पर्शुराम अधिकारी, मधेसबाट पर्साकी उषादेवी थरुनी र महोत्तरीका डा. अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, बागमतीबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौंका विवेक देवकोटा र धादिङका ध्रुवराज विश्वकर्मा उम्मेदवारका रुपमा छानिएका छन् ।गण्डकीबाट गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमन्द्र शेरचन, लुम्बिनीबाट दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षत्रीले उम्मेदवारी दिने भएका छन् ।
कर्णालीबाट हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक तथा सुदूरपश्चिमबाट कैलालीकी सावित्रादेवी घिमिरे र रामचन्द्र जोशी तथा कञ्चनपुरका ईश्वरीप्रसाद खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको महासचिव पोखरेलले जनाएका छन् ।
राप्रपाबाट १५ उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा चुनावका लागि १५ जना उम्मेदवारको टुंगो लगाएको छ । सातवटै प्रदेशमा उम्मेदवारी दिनेगरी राप्रपाले नाम छनोट गरेको हो ।शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुंग्याएको भए पनि सार्वजनिक गरिएको थिएन । कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन् ।
बागमतीबाट महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपांगमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम टुंगो लगाइएको छ । गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । यस्तै, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मी उठ्ने भएका छन् ।राप्रपाले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका उम्मेदवारको नाम खुलाएको छैन । ती तीनवटै प्रदेशमा राप्रपासँग एक–एक प्रदेश सांसदसहित ५३ मतभार मात्र रहेको छ ।
१४ स्थानमा मतदान केन्द्र
आयोगले सातवटै प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशमा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशमा हेटौंडास्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ब्लक ‘एफ’ लाई मतदानस्थल तोकिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेशसभा भवनमा मतदानस्थल तोकिएको छ ।प्रत्येक मतदानस्थलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर तथा प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तोकिएको प्रवक्ता पौडेलले बताए ।
२०४७ मतदाता, ५७ हजार ५५९ मतभार
राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार ४७ जना मतदाता कायम भएका छन् । प्रदेशका ५४९ र स्थानीय तहका एक हजार ४९८ गरी दुई हजार ४७ मतदाता निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । स्थानीय तहका प्रतिनिधिको मतभार १९ र प्रदेशसभा सदस्यको मतभार ५३ तोकिएको छ । राष्ट्रिय सभामा १९ सिटका लागि माघ ११ गते मतदान हुँदै छ । रिक्त हुनु महिना दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण माघ ११ मा चुनाव गर्न लागिएको हो ।
क्रस प्रदेशसभा स्थानीय तह कूल मतदाता कूल मतभार
प्रदेश मतदाता संख्या जम्मा मतभार मतदाता संख्या जम्मा मतभार
१ कोशी ९३ ४९२९ २७४ ५२०६ ३६७ १०१३५
२ मधेस १०७ ५६७१ २६७ ५०७३ ३७४ १०७४४
३ बागमती ११० ५८३० २३७ ४५०३ ३४७ १०३३३
४ गण्डकी ६० ३१८० १७० ३२३० २३० ६४१०
५ लुम्बिनी ८७ ४६११ २१८ ४१४२ ३०५ ८७५३
६ कर्णाली ४० २१२० १५६ २९६४ १९६ ५०८४
७ सुदूरपश्चिम ५२ २७५६ १७६ ३३४४ २२८ ६१००
जम्मा ५४९ २९०९७ १४९८ २८४६२ २०४७ ५७५५९
एमालेलाई सबै प्रदेशमा मुश्किल
सबै प्रदेशमा गरी एमालेको मतभार १७ हजार २६ छ भने सत्ता गठबन्धनको मतभार ३५ हजार ६३३ छ । एमाले कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । तर कोशीमा एमालेको मतभार चार हजार २१० छ । गठबन्धनसँग कोशीमा पाँच हजार ४७४ मतभार छ । एमालेले गठबन्धनबाहिरका अरु दलसँग सहकार्य गरेको अवस्थामा पनि जित्ने देखिन्न । किनभने गठबन्धनइतर दलको मतभार ४४९ मात्र छ ।
मधेसमा पनि एमालेलाई गठबन्धनले पराजित गर्ने देखिन्छ । गठबन्धनसँग आठ हजार १५८ मतभार छ भने एमालेसँग दुई हजार ३०२ मात्रै छ । गठबन्धनबाहिर रहेका अरु दलको मतभार ३७९ छ । बागमतीमा एमालेको मतभार गठबन्धनको भन्दा निकै कम भएकाले एमाले जित्ने देखिन्न । गठबन्धनको छ हजार ७८९ र एमालेको दुई हजार ५७१ मतभार छ । गठबन्धन र एमालेबाहेक दलको ९९२ मतभार छ ।
गण्डकीमा गठबन्धनको तीन हजार ७७० र एमालेको दुई हजार ४५८ मतभार छ । एमाले र गठबन्धनबाहेकको मतभार १८२ छ । लुम्बिनीमा गठबन्धनको पाँच हजार ४५४ र एमालेको दुई हजार ८१० मतभार छ । गठबन्धन र एमालेबाहेकको ४८९ मत पनि एमालेको जितका लागि निर्णायक हुने देखिन्न ।कर्णालीमा गठबन्धनको तीन हजार ७०७ र एमालेको एक हजार १९५ मतभार छ । एमाले र गठबन्धनबाहेकको मतभार २२० छ । सुदूरपश्चिममा पनि एमालेको अवस्था कमजोर छ । एमालेको एक हजार ४८० र गठबन्धनको चार हजार २४५ मतभार छ । एमाले र गठबन्धनबाहेकको मतभार ४२८ रहेको छ ।