काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ जना उम्मेदवारको नाम टुंग्याएको छ । उसले कोशीबाट पञ्चायतकालदेखिका कम्युनिस्ट आन्दोलनकी नेतृ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । सुनसरीकी उनी पार्टी निर्माणमा योगदान दिने पुराना नेतृ हुन् । उनले हालसम्म कुनै लाभको पदमा पुग्ने अवसर पाएकी छैनन् । उनी उम्मेदवार भएको महिला क्लस्टरबाट हो ।
कोशीकै भोजपुर घर भएका केन्द्रीय सदस्य परशुराम अधिकारी अन्य क्लस्टरबाट उम्मेदवार भएका छन् । उनी पूर्वमाओवादी नेता हुन् । तत्कालीन नेकपा विघटनपछि उनी एमालेमै रहेका थिए । मधेस प्रदेशबाट पर्साकी नेतृ उषादेवी थरुनीलाई एमालेले उम्मेदवार बनाएको छ । उनी पार्टी संगठनमा प्रभावशाली नेतृ मानिन्छिन् । उनी महिला क्लस्टरबाट उम्मेदवार बनेकी हुन् । अन्यबाट डा. अर्जुनकुमार सिंह (राजपुत) उम्मेदवार बनेका छन् । डा. सिंह पार्टीमा वैचारिक नेता पनि मानिन्छन् ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेकी रोचकुमारी चौलागाईं पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनी पार्टीमा लामो समयदेखि क्रियाशील नेतृ भएको पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए । अन्यबाट उम्मेदवार बनेका चितवनका त्रिलोचन निर्मल पौडेल स्थानीय नेता हुन् । लामो समयदेखि पार्टी संगठनमा क्रियाशील उनी पार्टीमा अवसर नपाउने नेतामा पर्छन् ।
अपांग क्लस्टबाट उम्मेदवार बन्ने भएका विवेक देवकोटा माओवादीको जनवर्गीय संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का कार्यकर्ताहरूले खुट्टा काटेर झाडीमा फालेका नेता हुन् । उनी रेस्टुरेन्ट व्यवसाय गर्छन् । उनको घर काठमाडौं हो । दलित क्लस्टरबाट उम्मेदवार छनोट भएका धादिङका ध्रुवराज विश्वकर्मा दलित मुक्ति मोर्चामा आबद्ध छन् । उनी पनि पार्टीमा अवसर नपाउने नेता हुन् ।
गण्डकी प्रदेशमा महिलाबाट गोरखाकी नेतृ सम्झना देवकोटा उम्मेदवार बन्ने भएकी छन् । अन्यबाट सहकारी अभियन्ता चक्रबहादुर पराजुली (स्याङ्जा) उम्मेदवार बनेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्य अर्यालले राष्ट्रिय सहकारी बोर्डको सदस्यसचिवमा नियुक्त गरेकी थिइन् । किसान संगठनमासमेत आबद्ध उनी सहकारी विज्ञका रूपमा चिनिन्छन् ।
अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन (मुस्ताङ उम्मेदवार भएका छन् । उनी पार्टीमा अवसर नपाउने नेतामा गनिन्छन् ।लुम्बिनी प्रदेशमा अनेमसंघ केन्द्रीय सदस्य रहेकी दाङकी तुलसाकुमारी केसी महिलाबाट उम्मेदवार बनेकी छन् । उनी पार्टीको लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन् । अन्यमा उम्मेदवार छनोट भएका झपेन्द्रबहादुर घर्ती क्षेत्री एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । पाल्पा जिल्ला विकास समितिको उनी पूर्वसभापतिसमेत हुन् ।
कर्णाली प्रदेशमा महिलाबाट उम्मेदवार बनेकी विमलाकुमारी शाही पार्टीको हुम्ला उपसचिव हुन् । उनी यसअघि गाउँपालिका उपाध्यक्ष थिइन् । अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट पार्टीको कर्णाली प्रदेश कमिटीका पूर्वसदस्य हुन् । दलितबाट उम्मेदवार बनेका दैलखका हिक्मत विक उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय उपाध्यक्ष रहेको प्रदेश अध्यक्ष गुलावजंग शाहले बताए ।
सुदूरपश्चिम प्रदेशमा महिलाबाट नेतृ सावित्रादेवी घिमिरे (कैलाली) अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता र अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) उम्मेदवार बनेका छन् ।