काठमाडौं– दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि हुने भाषा परीक्षामा सहभागी हुन करिब एक लाख ६५ हजार जनाले आवेदन दिएका छन् । जसमा शिप बिल्डिङतर्फ यसअघि लिइएको परीक्षामा असफल करिब २१ हजार जना समेटिएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।
यो तथ्यांकले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया रोजगारीका लागि जान चाहने आकांक्षीहरु धेरै रहेको देखाउँछ । यही पुस १६ देखि २० गतेसम्मको समयावधिमा शिप बिल्डिङतर्फ अनुत्तीर्ण भई बसेका २० हजार ९२९ जना परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन दिने परीक्षार्थीको संख्या एक लाख ६४ हजार ७४१ पुगेको छ । यसअघि पुस २ देखि ६ गतेसम्म खुलाइएको आवेदनअनुसार एक लाख ४३ हजार ८१२ जनाले फाराम भरेका थिए । गत साउनमा शिप बिल्डिङका लागि इपिएस परीक्षामा सहभागी भएका झण्डै ३५ हजारमध्ये चार हजार ९८ जनामात्र उत्तीर्ण भएका थिए । जसमा २९ हजारभन्दा बढी असफल भएका थिए । उनीहरुमध्येबाट २१ हजार हाराहारीमा मात्रै आवेदन परेको शाखाले जनाएको छ ।
एचआरडी कोरियाले सन् २०२३ भित्र कुनै एक इपिएस परीक्षामा सहभागी भएका परिक्षार्थीहरुलाई अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरिएकोप्रति आन्दोलनमा उत्रिएका थिए । असन्तुष्टहरुले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै इपिएस शाखा कार्यालयमा प्रदर्शन तथा घेराउ गर्दै आएका थिए । उनीहरुको माग सुनुवाइ नगरी शाखाले नयाँ आवेदनमात्र लिने निर्णय गरेपछि १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले पुस ५ गते आवेदकहरुलाई मात्र सम्बोधन हुनेगरी आदेश दिएपछि इपिएस शाखाले १८ जनालाई मात्र परीक्षामा सहभागी हुनका लागि आवदन माग गरेको थियो ।
शाखाको उक्त निर्णयविरुद्ध पुस १३ गते आवेदन दिनबाट वञ्चित युवाहरुले गरेको आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली नै चलाउनुपरेको थियो । प्रहरीको गोलीबाट अछामका वीरेन्द्र साह र दैलेखका सुजन राउतको ज्यान गएको थियो । त्यस क्रममा आन्दोलनकर्मीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनीसमेत गरेका थिए । पुनः उच्च अदालतमा परेको अर्को रिटको सुनुवाइपश्चात् शिप बिल्डिङमा सहभागी भएका सबै परीक्षार्थीलाई आवेदन फाराम भर्नबाट रोक नलगाउन आदेश दिँदा झण्डै २१ हजारले आवेदन दिने मौका पाएका हुन् ।
परीक्षा तालिका भने माघ २२ गते मात्रै तोकिने इपिएस शाखाले जनाएको छ । भाषा परीक्षा एक दिनमा चार सिफ्टसम्म सञ्चालन हुने भए पनि आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुनसक्ने बताइएको छ । आवेदक संख्याको आधारमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ । शाखाले जारी गरेको मापदण्डअनुसार भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले दोस्रो चरणको सीप परीक्षणमा उत्तीर्ण भई स्वास्थ्य परीक्षणमासमेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्न पाउने छन् । भाषा परीक्षा र सीप परीक्षणमा प्राप्त अंकको आधारमा अधिकतम अंक प्राप्त गर्नेलाई रोजगारीका लागि क्रमशः रोस्टरमा सूचीकृत गरिने शाखाले उल्लेख गरेको छ ।
यद्यपि शिप बिल्डिङमा असफल भई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको हकमा अझै के हुन्छ भन्ने निक्र्योल भइसकेको छैन । उनीहरुको विषयमा कोरिया र नेपालको संयुक्त प्राविधिक समितिले निर्णय गर्ने केही दिनअघि श्रमसचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाली राजदूत पार्क टि योङबीच सहमति भएको थियो ।
इपिएस कोरिया शाखाको निर्देशकमा कँडेल
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार कँडेललाई इपिएसको निर्देशकमा नियुक्त गरेको हो ।यसअघि शाखाको निर्देशक रहेका गुरुदत्त सुवेदीलाई सरकारले निलम्बन गरेको थियो । त्यसपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
शिप बिल्डिङमा असफल भएका परीक्षार्थीहरुले उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि आवेदन दिन पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा दुई युवाको ज्यान गएपछि सरकारले सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो ।नवनियुक्त निर्देशक कँडेलले श्रम मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख, वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशक भई कार्यसम्पादन गरिसकेकी छन् ।