काठमाडौं– सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई निर्धारित समयमै राष्ट्रिय सभामा उम्मेदवार छनोट मुश्किल भयो । किचलो साम्य पार्न सानेपास्थित पार्टी कार्यालयमा पटक–पटक बैठक बस्नुपरेको थियो । आइतबार दिउँसो १ बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक तोकिएको समयमा बस्न नसकेपछि दिउँसो ४ बजेका लागि सारियो ।
तर ४ बजे डाकिएको बैठक राति ११ बजेसम्म पनि बस्न सकेन । बैठक बस्न नसक्नुको मुख्य कारण थियो एक सिटमा कुरा नमिल्नु । कार्यसम्पादन बस्नुअघि डा. शेखर कोइराला र गगन थापा समूहको बैठक बसेको थियो बालुवाटारमा । शेखरको सचिवालयमा बसेको बैठकले संस्थापनइतरले चार सिट दाबी गर्ने निर्णय गर्यो । तर देउवाले सानेपामा तीन सिटभन्दा दिन नसक्ने जनाएपछि निर्णय टुंगोमा पुग्न मध्यरात नै कुर्नुपर्यो । शेखर पक्षले अन्ततः तीन सिटमा चित्त बुझाएपछि देउवाले निर्णय गरेका हुन् । टुंगो लागेका उम्मेदवारले सोमबार अ–आफ्नो प्रदेशको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् ।
को कुन टिमबाट ?
प्रदेश उम्मेदवार क्लस्टर समूह
कोशी कृष्णप्रसाद सिटौला अन्य देउवा
मधेश आनन्दप्रसाद ढुंगाना अन्य देउवा
बागमती जीतजंग बस्नेत अन्य देउवा
बागमती विष्णुदेवी पुडासैनी महिला प्रकाशमान सिंह
गण्डकी किरणवावु श्रेष्ठ अन्य शेखर
गण्डकी पदमबहादुर परियार अपांगता÷अल्पसंख्यक शेखर
लुम्बिनी विष्णुकुमारी सापकोटा महिला शेखर
कर्णाली कृष्णबहादुर रोकाया अन्य देउवा
सुदूरपश्चिम बलदेव बोहरा अन्य देउवा
सुदूरपश्चिम नारायणदत्त भट्ट अपांगता/अल्पसंख्यक) देउवा
गगनको २ र विश्वप्रकाशको ६ बुँदे असहमति
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा जुनसुकै बैठकमा फरक मत राख्न पछि पर्दैनन् । राष्ट्रिय सभाको उम्मेदवार छनोटमासमेत दुई महामन्त्रीले फरक मत राखेका छन् । यसअघि पराजित र समानुपातिक सूचीमा परेकाहरुलाई मौका नदिन दुई महामन्त्रीले केन्द्रीय समितिमै प्रस्ताव राखेका थिए । यही अनुसार केन्द्रीय समितिले यसअघि अवसर नपाएकालाई मौका दिने बुँदा थपेको थियो । नीतिमा यो भए पनि व्यवहारमा भने कांग्रेस नेतृत्वले यस्तो विषय पालना गरेन ।
यसै विषयमा संसदीय बोर्डको बैठकले ध्यान नपुर्याएको गगनको तर्क रह्यो । ‘हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।
यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो,’ गगनले पहिलो बुँदामा भनेका छन्, ‘संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लिखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।’
यस्तो निर्णयले फेरि पनि कांग्रेसी मनलाई खण्डित पारेको उनको दाबी छ । ‘यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।’ पार्टीको निर्णयप्रति लिखित असहमति भए पनि बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो संलग्नता रहने उनले बताएका छन् ।
यता अर्का महामन्त्री शर्माले संसदीय बोर्डको बैठकमा छ बुँदे असहमति राखेका थिए । आइतबार साँझ शर्माले विभिन्न प्रश्न अघि सार्दै असन्तुष्टि जनाएका थिए । ‘उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रस्ट असहमत,’ शर्माले पहिलो असहमति जनाएका थिए । त्यसपछि उनले संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ? राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा ? नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ? भनी प्रश्न गरेका थिए । शर्माले कृष्णप्रसाद सिटौलाको उम्मेदवारीमा भने स्वीकार्य भएको बताएका छन् । ‘राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रस्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ,’ शर्माले लेखेका छन् ।
शेखरद्वारा कमजोरी स्वीकार
कांग्रेस संस्थापनइतरका नेता शेखरले असन्तुष्टिका बाबजुद पनि सीमित सिटका कारण आफूहरूले खोजे जति सिट नपाएको स्वीकार गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी छनोट प्रक्रियाबारे आफ्नो वक्तव्य जारी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
शेखर–गगन पक्षले राष्ट्रिय सभा उम्मेदवारमा चार सिट दाबी गरेको थियो । यद्यपि पार्टी सभापति देउवाले तीन सिटमात्र दिएपछि शेखरले असन्तुष्टि जनाएका थिए । ‘सीमित सिटका कारण पार्टीका साथीहरूलाई न्याय गर्न चाहेर पनि सम्भव भएन,’ कोइरालाले भनेका छन् । न्यायोचित टिकट वितरण गर्न असमर्थ आफूले गल्ती गरेको भए सच्चिँदै अघि बढ्ने प्रणसमेत कोइरालाले गरेका छन् ।
‘न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती (कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु,’ उनले भनेका छन्, ‘मेरो अभियान पार्टीमा अवसरको न्यायोचित वितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरूबाट विगतमाझैं निरन्तर साथ र सहयोग पाइरहने अपेक्षासमेत गर्दछु ।’कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरिसकेकालाई भारी मतले जिताउने जिम्मा भने सबैका काँधमा आएको शेखरले बताएका छन् ।