पुसको हुस्सुले तीन फिट परको पनि देख्न सकिएको छैन । वरिपरि अग्ला डाँडाबाट ओरालो लाग्दै गरेको हुस्सु अनि शीतका थोपाले शिरका कपाल निथ्रुक्कै भइसकेको छ । पारिपट्टि रहेको वैतरणीधाम, वारी विचरा म कसरी होला काम । जान सकिएला ! हजुरबाउको सात पुस्तालाई तार्ने अनि मेरा सात पुस्तालाई परदेशमा नै प्रशस्तै पार्ने हुटहुटीले पो आको नि ।
अस्ति भर्खरै पूर्व–पश्चिम रेल कुदेजस्तै गरी चौरासी–चौरासी भन्दै लावा लस्कर लाउने सूर्यवादी, र गफैले चौरासी देखाइदिन्छु भन्ने अर्का घण्टीवादीको हैकमले खासै काम लाग्ने देखिएन ।त्यही चौरासी गर्नलाई होला अहिले हारेकाहरुले हराउनेहरुलाई कुरीऽ कुरीऽ देखाइदिएका छन् । हजुरबाले परलोक जाने बेलामा बालाई केही भन्न भ्याउनु भएन रे ? त्यही भएर काकाहरु अहिले गोमन साँपजस्तै चौरासीमा उभिएका छन् अरे ।
त्यो पनि ठीकै हो । वैतरणीका लागि चौरासी त चाहियो नै । एकासी, बयासी, त्रियासी यस्तै हो चौरासीमा देखाइदिने हो । वैतरणी गर्न त्यत्ति कहाँ सजिलो छ र ? गाईको पुच्छर समाएरै वैतरणी गराउने हो । वैतरणी गर्नका लागि पनि ‘गोदान’ त चाहियो । त्यो ‘गोदान’ का लागि चौरासीसम्म योगदान त गर्नु प¥यो नि । त्यही भएर हो चौरासी–चौरासी भन्दै वुर्कुसी लगाउनुपरेको ।
हजुरबाको पालामा पाँच काका चौतारामा बसेर वैतरणी तार्न भन्दै जे भन्यो त्यही नै हुन्थ्यो । अहिले नातीका पालामा सिंहदरबारमा पाँच ‘डाँका’ बसेर बोलेपछि चौरासीमा वैतरणी तार्नुपर्ने भएको छ । ठीकै हो । फरक त के नै पो भो र ? ऊ बेला कटवाल लगाउँथे अहिले जुकरबर्ग लगाउँछन् । कहिले सासूको पालो कहिले बुहारीको पालो भनेजस्तै हो ।
ऊ बेला लौरो समाएर गरेको योगदानले पजेरो प्राडो हुँदै अहिले इभीसम्म आइपुग्या छ । आखिर वैतरणी घाटमा पुग्न त मलामी चाहिले होला ? इलामतिरका काकाले मलामीकै लागि छोराछारी कुर्नु परो । त्यही भएर होला । अहिले हरुवाचरुवाहरुले हिँडाएरै भए पनि छोराछोरीलाई उतै पठाएर अहिले यता देश बनाउने डिङ हाँकिरहेका छन् । अहिले त त्यही मलामी पनि नपाइने भो क्यार भनेर पो चौरासीको सुगा रटाइँ छ भन्छन् राताघरे काका ।
विचरा राताघरे काकाको पनि के कुरा गर्नु कम्ता भिडेका हैनन र ? तर के गर्नु ‘आच्छु खाएँ बाच्छु खाएँ झुसे बारुला’ भनेजस्तै भो । वैतरणी न त तार्न सके न त तर्न सक्ने देखिएको छ । वैतरणी तार्न पनि निकै गाह्रो पो छ । कृष्णप्रसादहरुलाई फेरि प्राडो चढाउन मन छ । हारेकाहरुले हराउनेहरुलाई हक लगाउन निकै मन भएरै होला हिँडाएर लाखौं खर्चिर छोरा अमरिका पठाउनेलाई पनि सांसद हुन रहर छ । त्यसै चौरासी भनेको हो र !
तर गज्जबको हुने भो के चौरासी साल ! वैतरणी नदीमा तर्न गाईका पुच्छर नसमाई नभएजस्तो, जीवनभर सुप्रिमो भनाउँदाको पुच्छर समातेर हिँडेको भए पनि अन्तिममा उही गाईको पुच्छर समातेर चौरासीमा वैतरणी तर्नुपर्ने अबस्था पो देखियो त चौरासीका जन्मदाताहरुलाई ।
हुन पनि हो । रात रहे औराख पलाउँछ भन्थे । सत्र सालमा दरबारले नेतालाई निलम्वन गरेको थियो । ०७९ सालमा आइपुग्दा जनताले नै नेता निलम्वन गरिदिएका छन् । बाहरुले ‘लेन’ छाडेर भिलेन हुन थालेपछि चौरासीको देउसी भट्याउने कामबाहेक अरु त के नै लछारपाटो लाग्ला र !
कटाउने त चौरासीमै । चौरासी कटेका बूढाहरुलाई चौरासीमै कटाउने हो । त्यही चौरासीमै वैतरणी गराउने हो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेजस्तो । ‘मिसन ८४’ एक कान दुई कान मैदान भनेजस्तै गरी सुरु गरेको राम्रै हो । अब चौरासीमा सक्ने हो । को सकिने हो घुँडा धसेरै सक्ने हो । एकासी, बसासी त्रियासीमा सच्चिन दिने हो, चौरासीमा सक्काइ नै दिने हो !
वैतरणी तार्नलाई कुनै सभा पनि पस्नु पर्दैन, सभामा जानु पनि पर्दैन । चौतारामा पञ्च भलाद्मी बसेर ऊ बेला डाँडा कटाउँथे । अहिले पाँचतारेमा पञ्च धरापेहरु बसेर मिसन चौरासीमा खरानी बनाउँदै छन् । काइदाको कुरा त यो पो हो त । वैतरणी तार्नका लागि झापाको गाईलाई झापाकै सिलौटोमा राखेर कुटीकुटी धाम तार्ने हो चौरासीमा । अब हरुवा चरुवा भन्ने शब्द नै लोपोन्मुख भइसक्यो छ । पापको पोको बगाउनका लागि पनि चौरासीमा नै तार्ने हो । साहिला लामाको पसलमा मासु भात ख्वाएर किनेका भोटलाई, बबरमहलतिरको रातो घरको छतमा बसेर रक्तचन्दन लगाउने सुनको पानी छर्कनेलाई पनि सभामै लगेर चौरासी गर्ने हो ।
चौरासी नै गरिसकेपछि त केको आशा ? घण्टा बजाउने हो, घण्टी–घण्टी स्वाहा भन्ने हो । सूर्यवादीलाई, रुखको छहारीको हरियो पात गाईलाई खुवाएर वैतरणी धाममा पुच्चर समाएर भएन तार्ने नै हो । अब त अति भो । चप्पल फटफटाउने साइदुवाँले सिंहदरबारमा गर्जेर हुने भइदिएको भए चौरासीको चण्डीपाठ किन गर्नुपथ्र्यो र ? त्यसै हाम्रा हजुरबाले भनेका हुन् र ‘दुई जोइको पोइ कुनामा बसी रोइ’ भनेर । पढेरभन्दा परेर जानिन्छ । परेरभन्दा गरेर जानिन्छ भन्ने कुरा त राताघरे काकाले ऊ बेलामा नै भनेका हुन् नि । अहिले हजुरबाको चौरासी गर्न खोजेर हुन्छ र ? अब हजुरबाको मात्र किन नातीलाई पनि चौरासी नै गर्दिनु पर्ने बेला भाको छ । वैतरणी त यिनीहरुलाई पनि तार्नु छ ।
रोग, भोक र शोकमा रहेका प्रजालाई गिजोलेर तिनका रगत र पसिनाको करमा डर नमानी तर मार्ने साइदुवाँहरुलाई चौरासीमा नै वैतरणी तार्ने हो । एकद्धार प्रणाली अवलम्बन गर्ने हो नाती पुस्ताले हजुरबा पुस्तालाई चौरासीमा नै गाईको पुच्छर समाएर वैतरणी तराउने हो । सदा–सदाका लागि वैतरणी तराउने हो । प्रजा रैती हैनन् मालिक हुन् वैतरणी तराएर छाड्छन् भन्ने पुष्टि गराउने नै हो ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणी पश्यन्तुः मा कश्चित दुःख भाग्भवेत ः
ऊँ शान्ति शान्ति शान्ति ।