अहिले संसदमा अत्यन्तै गहन र महत्वपूर्ण विषय उठेको छ, त्यो हो नेताहरूको सम्पत्ति छानबिन । हिजो चप्पल लगाएर काठमाडौं छिरेका नेताहरू आज काठमाडौंजस्तो अत्यन्तै महँगो स्थानमा महल ठडाएका छन् । उनीहरूको हैसियत अझै गाउँघरमा दयनीय अवस्था छ । तर, आज उनीहरू काठमाडौंमा तले घर, गाडी, उत्तिकै ठाँटिलो बनेर बसेका छन् । घरमा जुत्ता लगाउन वर्षौँ कुर्नुपर्ने मात्र नभएर मासु खान दसैँ नै पर्खनु पर्नेहरू आज सपनामा झैँ गरी उनीहरूको दिनाचार्य फेरिएको छ । हिजो काठमाडौंका रोडपतिहरू आज करोडपति बनेका छन् । उनीहरूको न त व्यापार छ न त उनीहरूको कुनै जागीर नै । तर, उनीहरूको आर्थिक अवस्थाले आज आकाश छोएको छ । यत्ति छिटो नेताहरूको जीवनस्तर उकालो लाग्नुको कारण खोजिनुपर्छ । हिजो एक छाकमा बाँचेका नेताहरू आज लोकतन्त्र आउनेबित्तिकै उनीहरूको आर्थिक अवस्थाले भ्यागुतोझैँ उफ्रनुको कारण अब खोजिनैपर्छ । जनताले छाक काटेर तिरेको करमा भ्रष्टाचार गर्नेहरूलाई अब पाता नफर्काउने हो भने लोकतन्त्रको प्राकृतिक परिभाषामाथि नै प्रश्न चिह्न उठ्न सक्ने देखिएको छ ।
जनताको समृद्धि हुनुपर्ने बेला आज नेताहरूको समृद्धि भएको छ । सरकारमा जानेबित्तिकै नेताहरूको चालचलन फरक हुनुको कारण पनि खोजिनुपर्छ । अहिले निवर्तमान सञ्चारमन्त्रीको कमिसनको खेलको अडियो बाहिर आएपछि सबै नेताहरूमाथि विभिन्न खाले शंकाका बादल मडारिएको छ । अब सरकारमा जाने र नजाने नेताहरूको समेत सम्पत्ति छानबिन गर्नुपर्छ । सरकारमा हुनेहरूले सिधै अनियमितता गर्ने र सरकारमा नजाने नेताहरूले भागबन्डामा अनियमितता गर्ने गरिएको शंकाहरू आउन थालेका छन् । गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्नै पर्छ । जनताले कर तिर्नकै लागि खाडीको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाउनुपर्ने भएको छ । तर, आज त्यहि करलाई जनप्रतिनिधिहरूले भागबन्डा गरेर अनियमितता गर्ने हो भने जनताले कर तिर्ने कि नतिर्ने ? यस्तो प्रश्नहरू आउन थालेको छ ।
आजका करोडपति नेताहरू हिजो जड्यौरी लुगा, चप्पल लगाएर हिँडेको कहिँ छिप्दैन । तर, आज उनीहरू लोकतन्त्र आउनेबित्तिकै उनीहरूको समृद्धिको कथा सपनाझैँ भएको छ । हिजो खाली खुट्टा हिँड्नेहरू आज सुटेटबुटेट भएका छन् । आज उनीहरू नै चिल्ला कार चढेर हिँडेका छन् । बिनाजागीर र बिनाव्यापार नेताहरूको काठमाडौंमा महल कसरी बन्यो ? यो प्रश्नको उत्तर नेताहरूले बताउनैपर्छ । हिजो सुकुमबासीका नाममा ४ आना जग्गा पाउनेले लोकतन्त्र आउनेबित्तिकै राजधानीको बालुवाटारमा आनाको ५० लाख पर्ने आठ आना जग्गा किन्न सक्ने हैसियत कसरी बन्यो ? गाउँमा बुकुरो घर भएकाहरू आज काठमाडौंमा महल बनाउने हैसियत बनाएका छन्, त्यो पनि बिनाआम्दानी । जे र जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन सक्ने कुरै भएन । लाखौँ प्रयत्न गर्दा पनि एउटा व्यापारीले काठमाडौंमा महल बनाउने हैसियत राख्दैन तर आज नेता हुनेबित्तिकै उनीहरूले काठमाडौंमा बंगला खडा गर्ने हैसियत राख्नुको राज खोजिनैपर्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०७:१३