हाम्रो शरीरमा जस्तोसुकै घातक रोग किन नलागोस् तर हामीले आफ्नो मानसिक चेतना बलियो बनाएर राख्यौं भने त्यस रोगले हाम्रो स्वास्थ्यलाई त्यति धेरै हानि पुर्याउन सक्दैन । तर सामान्य रोग नै किन नहोस् औषधि खाएरै पनि मनमा विभिन्न कुरा खेलाएर नकारात्मक सोच्न थाल्यौं भने त्यसले हाम्रो शरीरलाई नराम्रो असर पुर्याउँछ । यसबाट के स्पष्ट हुन्छ भने हरेक समस्याको बलियो समाधान भनेकै मानसिक चेतना प्रवल बनाउनु हो ।
संसारका हरेक सजिव प्राणीमा दुई हृदय हुने गर्दछ, भौतिक हृदय र आत्मिक हृदय । भौतिक हृदयले शरीरमा रगत सञ्चार गर्ने काम गर्दछ भने आत्मिक हृदयले दया, माया, करुणा, प्रेम आदिको प्रतिनिधित्व गर्ने गर्दछ । भौतिक हृदय प्राणीको केही नियन्त्रणमा हुँदैन, ऊ प्राकृतिक रूपमा आफ्नै गतिमा चलिरहन्छ भने आत्मिक हृदय प्राणीको नियन्त्रणमा हुन्छ । यही आफ्नै नियन्त्रणमा हुने दोस्रो हृदयको नाम नै मन हो । मानव इतर अन्य प्राणीमा विवेक नहुने भएकाले उनीहरूले आफ्नो आत्मिक हृदयलाई केही नियन्त्रण गर्न सक्दैनन् ।
मनलाई विभिन्न कार्यका आधारमा ‘अन्तः स्करण चतुष्टय’ भनी चार भागमा विभाजन गरिएको छ, ‘मन, बुद्धि, चित्त र अहंकार’ । मन अर्थात् अन्तःकरणलाई विभिन्न संकल्प विकल्पहरू गर्ने भएकाले मन, निर्णय गर्ने भएकाले बुद्धि, चिन्तन गर्ने भएकाले चित्त र अहम् अर्थात् घमण्ड गर्ने भएकाले अहंकारका रूपले चिनिन्छ । जसमा मन र बुद्धि, एक पक्ष हो भने चित्त र अहंकार अर्को पक्ष । ज्ञान, मन र बुद्धिको क्षेत्रमा पर्दछ भने भावनाअन्तर्गतका कुराहरु चित्त र अहंकारको समूहमा पर्दछन् ।
निर्णयको कार्य गर्ने बुद्धिको बासस्थान मस्तिष्कभित्र हुन्छ भने संकल्प विकल्पको कार्य गर्ने मनको बासस्थान हृदयभित्र मानिन्छ । बुद्धि नीति प्रधान हुन्छ भने मन कर्म प्रधान हुन्छ । सृष्टिको सम्पूर्ण काम मनले गर्दछ । काम गर्नुपर्दछ भन्ने कुराबाहेक मनलाई केही कुरा थाहा हुँदैन । त्यो काम राम्रो होस् वा नराम्रो मनलाई केही चासो पनि हुँदैन तर संसारलाई राम्रो काम चाहिन्छ । यसै कारण मनमा बुद्धिको हस्तक्षेपको आवश्यकता पर्दछ । बुद्धिले निर्णय लिने गर्दछ तर बुद्धि पनि सत्व, रज र तम आदि गुणहरुका कारणले आफ्नो रङ फेरिरहन्छ । त्यसैले बुद्धिलाई योग, ध्यान इत्यादि विभिन्न विधिहरूको अभ्यासबाट सधैं सात्विक बनाइरहनु पर्दछ ।
सत्वगुणयुक्त बुद्धिलाई नै विवेक भनिन्छ । विवेक भनेकै सकारात्मक विचारहरूले भरिएको बुद्धितत्व हो । त्यसैले विवेकद्वारा गरिएको निर्णय सही निर्णय हुने गर्दछ । अतः बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु नै हामी सबैको प्रयास हुने गर्दछ । वैदिक ऋषिहरुले आफ्नो समाधिबाट गायत्रीमन्त्रको जुन प्रारुप तयार पारे, त्यसको उद्देश्य पनि बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु हो । उक्त मन्त्रलाई चार वेदमध्येकै सर्वश्रेष्ठ मन्त्र मानिन्छ ।
जुन यसप्रकार रहेको छ–
‘ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।।’ अर्थात् सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्दर्छौं । ती परमात्माले हाम्रो बुद्धिलाई सधैं असल मार्गतर्फ प्रेरित गरून् ।
विभिन्न सुख तथा दुःखका साथै बन्धन तथा मोक्षको कारण पनि मन नै हो । विभिन्न विषयमा आशक्त मन दुःख तथा बन्धनको कारण हुन्छ भने संकल्प तथा कामनारहित मन परम् सुख तथा मोक्षको कारण हुन पुग्दछ । यही कुरालाई यहाँ स्पष्ट पारिएको छ । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।’ –ब्रह्मबिन्दूपनिषद्, चाणक्य नीति ।
महान् विद्वान् सच्चिदानन्द सरस्वती (खप्तड बाबा)को पठनीय पुस्तक विचार विज्ञानमा पनि मन नै मानापमान तथा सुख दुःखको कारण हो र सद्विचारयुक्त मनले नै वास्तविक आनन्द तुल्याउँछ भनेर मनमा सधैं सद्विचारहरूको भण्डार गर्नुपर्ने कुरालाई नै जोड दिएका छन् ।
हाम्रो शरीरमा जस्तोसुकै घातक रोग किन नलागोस् तर हामीले आफ्नो मानसिक चेतना बलियो बनाएर राख्यौं भने त्यस रोगले हाम्रो स्वास्थ्यलाई त्यति धेरै हानि पुर्याउन सक्दैन । तर सामान्य रोग नै किन नहोस् औषधि खाएरै पनि मनमा विभिन्न कुरा खेलाएर नकारात्मक सोच्न थाल्यौं भने त्यसले हाम्रो शरीरलाई नराम्रो असर पुर्याउँछ । यसबाट के स्पष्ट हुन्छ भने हरेक समस्याको बलियो समाधान भनेकै मानसिक चेतना प्रवल बनाउनु हो ।
भगवान् श्रीकृष्णले पनि भागवद् गीतामा ‘इन्द्रीयाणां मनश्चास्मि’ अर्थात् इन्द्रीयहरूमध्ये ‘म’ मन हूँ भनेर मनलाई नै उत्प्रेरित गरेका छन् । कुनै पनि कार्य गर्दा मानिसले मन विचलित नबनाई एकाग्र मनले दत्तचित्त भएर गर्यो भने जस्तोसुकै कार्यबाट पनि हामीले सफलता प्राप्त गर्न सक्दछौं । तर जतिसुकै सरल काम होस् चञ्चल मनका साथ गर्यौं भने हामीले सफलता प्राप्त गर्न सक्दैनौं । महाभारतमा महर्षि व्यासले कौरवहरूलाई विजयको उपाय बताउने क्रममा पनि यही शिक्षा दिएका थिए । यस विषयमा साहित्यकार मुकुन्दशरण उपाध्यायले आफ्नो महाभारत सूक्तिसुधा नामक ग्रन्थमा यसरी स्पष्ट पारेका छन् ।
अल्पायां वा महत्यां वा सेनायामिति निश्चयः ।
हर्षो योधगणस्येको जयलक्षणमुच्यते ।।
अपि पञ्चाशतं शूरा मृद्नन्ति महतीं चमूम् ।। –(महाभारत भीष्म पर्व ३/७५ र ८३)
अर्थात्
‘सेना धेरै कि थोरै होस् मेरो एस्तो छ निश्चय ।
उत्साहै हुनु हो मुख्य जितको हेतु वास्तव ।।
पचासैले पनि मार्छन् असंख्य सैन्यको गण ।
धेरै बगालले मात्र जितिने केही होइन ।।’
त्यसैले हामीले मनलाई सधैं सफा, स्वच्छ, निर्मल तथा उत्साही बनाइराख्नुपर्दछ । अनावश्यक चिन्ता लिएर मनलाई ग्लानी बनाउनु हुँदैन । नीतिशास्त्रमा यही कुरालाई बारम्बार भनिएको छ– ‘चिता दहति निर्जीवं चिन्त दहति जीवनम् ।’ अर्थात् चिताले निर्जीवलाई जलाउँदछ भने चिन्ताले सजीवलाई नै जलाउँछ । यसकारण मनलाई चिन्तामुक्त र ऊर्जाशील बनाई आफ्नो काममा दत्तचित्त भएर लाग्नाले असम्भव कुरालाई पनि सम्भव बनाउँदछ । संसारमा हरेक सफल भएका मानिसहरूको सूत्र पनि यही नै हो ।