विदुर–वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका छन् । उनले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिए । विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए । उनले भने, ‘सरकारी विद्यालयको स्तर सुधार्नु जरुरी छ ।’
वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए । शिक्षकले नै विद्यार्थीको भविष्य निर्धारण गर्न सक्ने हुनाले राम्रो शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए । हालको शिक्षा प्रणाली प्रयोगात्मक भन्दा घोकन्ते बिद्या भएको उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए । प्रधानाध्यापक महेन्द्र राउतले पुरानो पश्चिम १ नं कै पुरानो सोा विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणास्तरीय शिक्षा प्रदान गरिएको बताउँदै कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने नुवाकोट जिल्लामा पहिलो र एक मात्र भएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०७:२१