- बलात्कार मुद्दामा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आठ वर्ष कैद र पीडितलाई क्षतिपूर्तिस्वरुप पाँच लाख भराउन काठमाडौं जिल्ला अदालतको आदेश
- भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका पूर्वडिआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाह र पूर्वसई दीपेन्द्र पनेरुलाई तीन वर्ष कैद र १६ लाख ६९ हजार रुपैयाँ विगोसँगै त्यति नै जरिवानासमेत भराउन आदेश
- हत्या, बेपत्ता, बलात्कारजस्ता मुद्दाका आरोपी तपस्वी रामबहादुर बम्जन पक्राउपछि सार्वजनिक, तीन करोडभन्दा बढी नेपाली र १७ देशका मुद्रा बरामद
काठमाडौं– न्यायालयबाट छुट्टा–छुट्टै मुद्दामा दुई चर्चित प्रतिवादीलाई बुधबार कैद सजाय तोकिँदा एक जना तपस्वी प्रहरी हिरासतमा पुगेका छन् । कैद सजाय तोकिएकाहरुमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने र नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाह छन् । यता मंगलबार साँझ पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई बुधबार नै सार्वजनिक गरिएको हो ।
लामिछानेले बलात्कारसम्बन्धी मुद्दामा कैद सजाय पाएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले आठ वर्ष कैद सजाय सुनाएको छ । यसअघि १३ पुसमा न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । बुधबार सजाय तोकिएको हो । आठ वर्ष कैद सजाय हुने र पीडितलाई क्षतिपूर्ति एवं जरिवानासहितको फैसला भएको छ ।
अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले दिएको जानकारीअनुसार लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि भएको छ । थप दुई लाख भने क्षतिपूर्तिबापतको रकम तिर्नुपर्ने छ । जरिवाना र क्षतिपूर्तिबापतको रकम पीडितले पाउने पन्थीले बताए ।लामिछानेलाई नाबालिगमाथि बलात्कारको आरोप लागेको थियो । तर, ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर १८ वर्ष पूरा भएको ठहर विभिन्न निकायबाट प्राप्त सरकारी कागजको आधारमा गरिएको थियो । तर, उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको अदालतले फैसलामा उल्लेख गरेको छ ।
सन्दीपका वकिलहरुले भने फैसला चित्त नबुझेको भन्दै माथिल्लो तहको (उच्च) अदालतमा जाने बताएका छन् । कानुनतः मुद्दाका प्रतिवादीले कुनै पनि तहको अदालतबाट भएको फैसलाविरुद्ध पुनरावेदन गरेर कानुनी चुनौती दिन पाउँछ । पुनरावेदन गर्ने अवधि ७० दिन हुन्छ । ३० दिनसम्म थप म्याद हुन्छ । यसकारणले सन्दीपलाई कैद सजाय भए पनि उनी कम्तीमा १०० दिनसम्म जेलबाहिरै हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
उनीविरुद्ध २१ भदौ २०७९ मा पीडित भनिएकी एक किशोरी (गौशाला–२६) ले काठमाडौंको प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । २३ भदौ २०७९ मा नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । २० असोज २०७९ मा विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट उनी पक्राउ परेका थिए । त्यसको तीन सातापछि १४ कात्तिक २०७९ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछाने दोषी ठहरिएको दुई सातापछि कैद सजाय तोकिएको हो ।
पूर्वडिआइजी शाहलाई तीन वर्ष कैद
बुधबार नै विशेष अदालतले कैद सजाय तोकिएका प्रहरीका पूर्वडिआइजी शाह भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएका हुन् । उनलाई अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । शाहबाट १६ लाख ६९ हजार रुपैयाँ विगो र त्यति नै जरिवानासमेत भराउन पनि अदालतको आदेश छ । शाहसँगै भ्रष्टाचार मुद्दामा पूर्वप्रहरी नायव निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरुलाई पनि शाहबराबरकै कैद, विगो र जरिवानाको फैसला अदालतबाट भएको छ ।
उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । उक्त मुद्दामा उनीहरुलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । शाह र पनेरुविरुद्ध अख्तियारले २० फागुन २०७६ मा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको थियो । २७ वैशाख २०७२ मा प्रहरी जवानको भर्ना खोलिएकोमा पुसको अन्तिम साता तालिम सकिए र माघदेखि तोकिएकै ठाउँबाट तलब भत्ता खानेगरी पदस्थापना भएको अवस्थामा माघ र फागुनको तलब भत्ता खर्च लिएर शाहसहितले भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो । जुन आरोपलाई अदालतले सदर गरेको हो ।