काठमाडौं– मंगलबार साँझ पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ‘लिटिल बुद्ध’को रुपमा चर्चित बम्जनमाथि हत्या, बेपत्ता, बलात्कार, यौन दुराचारलगायत आरोप लगाइएको छ । उनलाई सिआइबीको टोलीले मंगलबार बूढानीलकण्ठ नगरपालिका–६, हात्तीगौंडाबाट नियन्त्रणमा लिएको हो ।
सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले बम्जन बसेको घरबाट ९२ हजार नेपाली रुपैयाँ बराबरको १७ देशका मुद्रा र तीन करोड तीन लाख ७५ हजार रुपैयाँ नेपाली मुद्रा बरामद गरेको जानकारी दिइन् । साथै, मोबाइल १४ थान, चार थान ल्यापटप र ट्याब, २० वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्रीसमेत बरामद गरेको प्रहरीको भनाइ छ ।
पत्रकार सम्मेलनमा सिआइबी प्रवक्ता नवराज अधिकारीले पाँच करोडको गाडी किन्नका लागि बम्जनले धुम्बाराहीको एउटा कम्पनीलाई तीन करोड रुपैयाँ एड्भान्स बुझाइसकेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिए ।तपस्वी बम्जनविरुद्ध २०७१ को साउनमा बाराको हलखोरियामा बलात्कृत भएको भन्दै एकजना अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सर्लाहीमा पनि त्यस्तै प्रकृतिको उजुरी परेको थियो ।
त्यस आधारमा २०७६ को माघमा सर्लाही जिल्ला अदालतले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरको थियो । पक्राउ गर्न प्रहरीले बम्जनका बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोकलगायतका आश्रमहरुमा छापा मारेको थियो । तर, बम्जन प्रहरीलाई छल्दै आएका थिए । मंगलबार भने सिआइबीले सञ्चालन गरेको ‘अपरेसन ब्ल्यू’मा उनी परे । उनी काठमाडौंमा पछिल्ला दुई महिनादेखि बस्दै आएको पनि पत्रकार सम्मेलनका क्रममा अधिकारीले जानकारी दिए ।
बम्जनविरुद्ध उनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारेको आरोप लागेको छ । बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबालाई पनि सिन्धुलीस्थित आश्रमबाट बेपत्ता पारेको आरोप लागेको छ । वाइबालाई बम्जनले कुटेरै हत्या गरेको आरोपसमेत उनीमाथि लाइएको छ ।
केही युवतीलाई बम्जनले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । बम्जनलाई बुधबार नै प्रहरीले हवाइजहाजमार्फत सर्लाही लगेको छ । त्यहाँ उनीविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उपस्थित गराउन लगिएको सिआइबीले जनाएको छ ।
उनका अनुयायीहरूले भने बम्जनलाई प्रहरीले फसाउन खोजेको आरोप लगाउँदै आएका छन् । बम्जनलाई रिहा गर्न उनीहरुको माग छ । बुधबार सिआइबी कार्यालयमै बम्जनलाई रिहा गर्न माग गर्दै पूर्वराज्यमन्त्री यशोधा लामालगायतका अनुयायीहरु पुगेका थिए । बम्जनको पक्षमा पूर्वमन्त्री मणि लामाले पनि आवाज उठाइरहेका छन् ।